५२ पदका लागि भएको उपनिर्वाचनको मतदान सम्पन्न, मत गणना आजैदेखि

काठमाडौं, मंसिर १४ । तीनै तहका ५२ पदका लागि विभिन्न स्थानमा भएको मतदान सकिएको छ। मतदान गर्ने अवधि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको थियो।

निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले ६७ प्रतिशतभन्दा बढी मत खसेको जानकारी दिएका छन्। यद्यपि, यो प्रारम्भिक जानकारी हो। पूर्ण जानकारी भने आयोगले देशभरको तथ्यांक संकलन गरेपछि थाहा हुने उनले बताए।

केही स्थानमा सामान्य घटना हुनुबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको थियो।२०७४ सालमा विभिन्न समयमा तीनै तहको निर्वाचन भएको थियो। सोहीमध्ये विविध कारणले ५२ पद रिक्त भएका थिए।

निर्वाचन भएका स्थानको मतपेटिका संकलन गरेर राजनीतिक दलहरुबीच सहमति गरी आजै बेलुकादेखि मतगणना सुरु गरिने अर्यालले जानकारी दिए।

यसैबीच कास्की २ मा ६५ प्रतिशत मत खसेको छ । कुल मतदाता ७१ हजार ८७१ जना थिए । २०७४ सालमा ७०६५१ मतादाता थिए भने अहिलेको निर्वाचनमा ६५ प्रतिशत मत खसेको बताइएको छ ।

मतपेटिका संकलन गरेर ७ बजेसम्म जिल्ला समन्वय समितिको कार्यालयमा लैजाने तयारी भइरहेको छ । त्यसपछि मतगणना सुरु हुनेछ । उता रोल्पाको थवाङमा भने १६.४ प्रतिशत मत खसेको छ । एकहजार ७४ जना मतदाता रहेकोमा जम्मा २०९ मत खसेको निर्वाचन अधिकृत रमेशप्रसाद तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्