गाउँका विद्यार्थी बजार झर्ने क्रम बढ्यो, पहाडी क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या न्यून

काठमाडौं ।गाउँका विद्यार्थी बजार झर्ने क्रम बढ्दै जान थालेको छ । चितवनका पहाडी क्षेत्रमा रहेका सरकारी विद्यालयमा विद्यार्थीको संख्या न्यून हुन थालेको छ ।

गाउँगाउँमा निजी विद्यालय खुल्ने क्रम चलेसँगै सरकारी विद्यालयमा विद्यार्थीको संख्या कम देखिएको हो ।

चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाको वडा नम्बर ६ यकराङस्थित दीपज्योति राष्ट्रिय आधारभूत विद्यालयमा जम्मा २३ जना मात्र विद्यार्थी अध्ययनरत छन् ।

२०६१ सालमा स्थापित यो विद्यालयमा ३ कक्षासम्मको पढाइ हुने गरेको छ ।

विद्यालय स्थापना गर्दा धेरै विद्यार्थी भए पनि अहिले गाउँका मानिस शहरबजारतर्फ केन्द्रीत हुन थालेपछि विद्यार्थीको संख्या घटेको विद्यालयकी प्रधानाध्यापक रश्मी गुरुङले बताइन ।

विद्यार्थीको संख्या न्यून हुन थालेसँगै विद्यालय मर्ज हुने अवस्थामा पुगेको छ ।

गाउँका बालबालिकालाई यही विद्यालयमा पठाउने यसअघिको सहमति स्थानीयले कार्यान्वयन नगर्दा सोचेजस्तो विद्यार्थी भर्ना गराउन नसकिएको प्रधानाध्यापक गुरुङले गुनासो गरिन् ।

प्रतिक्रिया दिनुहोस्