अब ललितपुरमा साइकलका लागि छुट्टै लेन

काठमाडौं, मंसिर १४ । ललितपुरमा साइकलका लागि छुट्टै लेन बनाइने भएको छ ।
ललितपुर महानगरपालिकाले साइकल यात्रुका लागि सडकमा छुट्टै साइकल लेन बनाएर सञ्चालनमा ल्याउने तयारी थालेको बताएको छ ।

शनिबार महानगरपालिकाले कुपन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म र कुपन्डोल, पुल्चोकबाट सिधा मंगलबजार पुग्न सकिने गरी साइकल लेन व्यवस्था गरेको छ ।
चालु सडकमा नै छुट्याइएको साइकल लेन डेढ मिटर चौडाइको रहेको छ ।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काठमाण्डौ उपत्यकालाई साइकलमैत्री सडक बनाउने अभियानको थालनी भएको बताए । साइकल लेनले शिवपुरी र फुलचोकी जोड्न चाहेको पनि उनले बताए ।

महानगरले पाटन दरबार क्षेत्र केन्द्र बनाएर चारै दिशाबाट दरबार क्षेत्रमा आउन चारवटा साइकल लेन बनाउने योजना रहेको बताएको छ । अहिले व्यवस्था गरिएको साइकल लेनमा अन्य सवारी साधन सँग मिलेर चलाउनु पर्ने व्यवस्था गरिएको छ । यसरी साइकलका लागि अलग्गे लेन बनाउँदा यात्रिलाई भने अब सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्