३७ जिल्लाका ५२ पदका लागि मतदान जारी, ३३७ उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौं, मंसिर १४ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका केही सीटमा जनप्रतिनिधि चयनका लागि आज उपनिर्वाचन अन्तर्गत मतदान भइरहेको छ ।

निर्वाचनमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।३७ जिल्लाका ५२ रिक्त पदका लागि हुने निर्वाचनका लागि २ सय ४७ मतदानस्थल तथा ५ सय ३७ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

आयोगका अनुसार उपनिर्वाचनका लागि पाँच हजार ५ सय ३२ कर्मचारी खटिएका छन् ।र्वाचनका लागि गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको सहभागितामा सुरक्षाकर्मी परिचालन भएका छन् ।

गत साउन १६ गते १८ वर्ष पूरा भइ फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले यस निर्वाचनमा मतदान गर्न पाउने छन् ।मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । निर्वाचनका लागि अनुगमनकर्ता, अधिकारकर्मी र सञ्चारकर्मीलाई पासको व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्यतर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ।

कास्की–२ मा प्रतिनिधिसभा सदस्य, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुन लागेको हो। कास्की २ का उम्मेदवार नेकपाकी तर्फबाट विद्या भट्टराई र विवेकशील साझाकी उम्मेदवार रजनी केसीले मतदान गरिसकेका छन्।

त्यस्तै, पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो।मतदान हुने क्षेत्रमा मदिरा बिक्री वितरण र सेवन निषेध गरिएको छ भने मतदान केन्द्र तोकिएका विद्यालयको पठनपाठन तीन दिनका लागि बन्द गरिएको छ ।

निर्वाचन हुने र भारतसँग सीमा जोडिएका कतिपय नाका निर्वाचनका अवधिमा बन्द रहनेछ ।

प्रतिक्रिया दिनुहोस्