९० हजार घुस लिँदालिँदै इन्स्पेक्टर पक्राउ

काठमाडौं, मंसिर १४ । ९० हजार घुससहित एक इन्स्पेक्टर पक्राउ परेका छन् । जनकपुरमा जारी रामजानकी विवाह महोत्सवको सुरक्षामा खटाइएका नेपाल प्रहरीका इन्स्पेक्टर रामकिशोर साह घुसमा लिएको रकम सहित जनकपुरबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत इन्स्पेक्टर साहलाई महोत्सव सुरक्षाका लागि जनकपुर बोलाइएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालका अनुसार पिराडी चोक क्षेत्रमा सुरक्षार्थ परिचालन गरिएका साह रामानन्द चोकस्थित होटल सीता प्यालेसमा सर्लाहीकै सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका हुन् ।

सर्लाही प्रहरी कार्यालयमा रहेको ठगी सम्बन्धी मुद्दा मिलाइदिने प्रलोभन दिई ९० हजार रुपैयाँ घुस लिने इन्स्पेक्टर साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास इकाई कार्यालयबाट खटेको टोलीले पक्राउ गरेको एसपी खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्