उपनिर्वाचनलगत्तै नयाँ सभामुख चयन गर्ने तयारी, यी हुन् सम्भावित नाम

काठमाडौं मंसिर १३ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले उपनिर्वाचनलगत्तै प्रतिनिधिसभा संसद्को नयाँ सभामुख चयनका लागि प्रक्रिया अगाडि बढाउने भएको छ।

उपसभामुख शिवमाया तुम्बाहाम्फे सभामुख बनाउनुपर्ने पक्षमा नेकपाका महिला नेतृहरूले शीर्ष नेतासँग माग गरेका छन्।

तुम्बहाम्फेलाई राजीनामा गराएर मन्त्री बनाउने प्रस्ताव असफल भएसँगै सभामुख बन्ने सम्भावना बढ्दै गएको नेकपाका एक नेताले बताए।

संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यहार गरेको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोजमा पदबाट राजीनामा दिएसँगै उक्त पद रिक्त भए पनि सभामुखको अनुस्थितिमा उपसभामुखले संसद् सञ्चालन गर्ने कानुनी प्रावधान रहेकाले उपसभामुख तुम्बाहाम्फेले मंसिर अन्तिममा बैठक बोलाउने तयारी भएको बताएकी छन्।

प्रम ओली डिस्चार्ज भएसँगै परामर्श गरी बैठक बोलाउने जानकारी दिँदै उनले भनिन्, ‘संसद्को नियमित काम अगाडि बढाउन मंसिर अन्तिममा बैठक बोलाउन खोजिएको हो, सरकार र राजनीतिक दलसँगको सहमतिमा मिति तय हुन्छ।’

कानुनी व्यवस्थाअनुसार सत्तारुढ दल नेकपाले सभामुख र उपसभामुख दुवै पद लिन मिल्दैन। नेकपाले सभामुख लिएर उपसभामुख प्रतिपक्ष दललाई दिने नीति लिएको छ।

भावी सभामुखका लागि उपसभामुख तुम्बाहाम्फेसँगै नेकपा संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुभासचन्द्र नेम्वाङको पनि चर्चा सुरु भएको छ।

संसद्को विकास तथा प्रविधि समितिका सभापतिसमेत रहेका नेकपाका नेतृ कल्याणी खड्काले सभामुख नरहेको अवस्थामा स्वाभाविकै रुपमा उपभासमुख नै सभामुख हुने बताउँदै भनिन्–‘वर्तमान उपसभामुख नै सभामुखको बलियो हकदार हो।’

पूर्वमाओवादी समूहले यसअघि आफ्नो भागमा परेकाले सभामुख आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ। तर पार्टी एकीकरण भइसकेको अवस्थामा उपसभामुख तुम्बाहाम्फेलाई नै सभामुख बनाउने गृहकार्य सुरु भएको बताइन्छ।

भोलि शनिबार हुने उपनिर्वाचनलगत्तै सभामुख चयन गर्ने नेकपाले तयारी गरेको खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित भएको छ ।

नेकपाभित्र पार्टीका प्रमुख सचेतक देव गुरुङ, अग्नि सापकोटा र पम्फा भुसालको नाम पनि चर्चामा छ। नेकपाका प्रमुख सचेतक देव गुरुङले सभामुख चयनबारे शीर्ष तहमा छलफल भएको जानकारी दिँदै, ‘शीर्ष तहमा पार्टीको सन्तुलनलाई ख्याल गरेर अध्यक्षद्वयले निर्णय गर्नुहोला।’

यद्यपि नेकपाको सचिवालय बैठकमा अहिलेसम्म नयाँ सभामुखबारे औपचारिक छलफल अगाडि बढेको छैन। उपनिर्वाचनलगत्तै सभामुखको निर्वाचन गराउने गरी काम अगाडि बढ्ने नेकपा संसदीय दलका उपनेता नेम्वाङले बताए।

आफू पुनः सभामुख बन्नेबारे आफूले पनि मिडियाबाट चर्चा सुनेको बताउँदै उपनेता नेम्वाङले भने, ‘सभामुखको बारेमा पार्टी्भित्र औपचारिक छलफल भएको छैन।’ चाहना जजसका जेजे भए पनि उपसभामुख तुम्बाहाम्फेले राजीनामा नदिँदासम्म सभामुख बन्ने प्रक्रिया अगाडि बढ्न सक्दैन।

प्रतिक्रिया दिनुहोस्