सरकारविरुद्ध देशव्यापी आन्दोलनको घोषणा, भारतले कब्जा गरेको नेपाली भूमिमा सरकार किन मौन ?

काठमाडौं, मंसिर १२ । भारतले कब्जा गरेको नेपाली भूमि फिर्ताको माग गर्दै संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिले सरकारविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिले नेपालको हितविपरीत गरिएका सन्धि, सम्झौता र भारतले कब्जा गरेको नेपाली भूमि फिर्ताको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।

समितिमा राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा संयुक्त, विश्व हिन्दु महासंघलगायत आवद्ध छन् ।

समितिले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि आन्दोलनमा उत्रन सबैसँग आग्रहसमेत गरेको छ ।

जनआन्दोलन संयोजन समितिका अध्यक्ष शेखरचन्द्र रायमाझीले मुलुकलाई विघटनको बाटोेबाट जोगाउन र स्वाधिनताको रक्षाका लागि आन्दोलनको विकल्प नभएको बताए ।

यसैबीच भारत विरुद्ध विभिन्न ठाउँमा आन्दोलन भइरहेको छ । आज मात्रै सीमा अतिक्रमणविरुद्ध विद्यार्थीहरुले दाङको घोराहीमा प्रदर्शन गरेका छन् ।

विद्यालय र कलेजका विद्यार्थीहरुले घोराही बजार परिक्रमा गरी सीमा रक्षाको माग गरेका थिए । उनीहरुले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत भारतद्वारा अतिक्रमित भूभाग फिर्ताको माग गर्दै नाराबाजी गरेका थिए । ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, सीमा अतिक्रमण रोकौं’ लगायतका नारा लेखिएका व्यानर र प्लेकार्ड बोकेका विद्यार्थीहरु विद्यालय र क्याम्पस पोसाकमै जुलुसमा आएका थिए ।

जुलुसमा पद्मोदय पब्लिक मावि भरतपुर, राप्ती शिक्षा क्याम्पस, ज्ञानसिन्धु कलेज, बालविकास मावि, नर्सिङ क्याम्पस लगायतका विद्यार्थीहरु सहभागी भए पनि नेत्रविक्रम चन्द निकट अखिल क्रान्तिकारीले भने आफ्नो संगठनको आयोजनामा कार्यक्रम भएको दाबी गरेको छ ।

प्रदर्शनका क्रममा प्रहरीले नेत्रविक्रम चन्द समूह निकट अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष अनिल केसीलाई पक्राउ गरेको छ । सोधपुछका क्रममा उनीसँग चन्द समूह सम्बन्धी धेरै जानकारी भएको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराइले बताए । मुद्दा चलाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्