पोखरामा नेकपाको चुनावी सभास्थल नजिकै बम विष्फोट

काठमाडौं, मंसिर ११ । पोखरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । बुधबार मध्यान्ह पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनकेन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ ।

विस्फोटमा कुनै मानवीय क्षति नभएपनि एक बसमा क्षति पुगेको छ । पार्किङ स्थलमा रहेको ग१ख ८८९१ नम्बरको बसका सिसा फुटेको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने घटनास्थललाई घेरा हालेर अनुसन्धान थालेको छ।

विगतमा पोखराका विभिन्न स्थानमा प्रतिबन्धित विप्लव समूहले बम विस्फोट गराउँदै आएको बताइएको बेला यो विस्फोटमा पनि सोही समूहको हात हुन सक्ने आशंका गरिएको छ ।

प्रदर्शनी केन्द्रमा आयोजित चुनावी सभामा नेकपा नेता वामदेव गौतम, सुवाचन्द्र नेम्वाङ, काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतको सहभागिता रहेको छ ।

मंसिर १४ गतेको उपनिर्वाचनमा कास्की २ की उम्मेदवार विद्या भट्टराईको पक्षमा माहोल बनाउन नेताहरु पोखरा पुगेका हुन् । विस्फोटबाट कुनै क्षति भने भएन ।

यसअघि उम्मेदवारी दर्ताको दिन कात्तिक २१ गते पनि कास्कीको जिल्ला निर्वाचन कार्यालय नजिकै अज्ञात समूहले बम विस्फोट गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्