नेपालको विकासमा सहयोग गर्न कतार इच्छुकः बिजुली उत्पादनमा लगानी गर्न मन्त्री पुनको आग्रह

काठमाण्डौ , मंसिर १० । उर्जा, जलस्रोत तथा सिंँचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ सँग कतार फण्ड फर डेभलपमेण्टको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

सिंंहदरबारमा रहेको उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालको उर्जा, सौर्य उर्जा र जलविद्युतको क्षेत्रमा लगानीको सम्भावना र दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा कतारी विदेशमन्त्रीका अन्तर्रा्ष्ट्रिय विकास मामिला हेर्ने सल्लाहकार समिर आर फ्रेङगीले नेपालको विकासमा सहयोग गर्न कतार इच्छुक रहेको बताए । उनले कतारले नेपालको उर्जा,पयर्टन र कृषिको क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको भन्दै लगानीका क्षेत्रहरुबारे चासो राख्नुभएको थियो । त्यसका साथै उर्जा क्षेत्रमा समेत लगानी गर्न आफूहरु तयार रहेको धारणा राखे ।

उर्जामन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण सफलतापूर्वक सम्पन्न भएको भन्दै आगामी दिनमा समेत दुई देशबीचको सम्बन्ध मजबुत हुने विश्वास व्यक्त गरे । उनले े सरकारले उर्जाको क्षेत्रमा उदार नीति लिएको र वैदेशिक लगानीको क्षेत्रमा समेत शतप्रतिशत प्रत्यक्ष लगानी गर्नसक्ने प्राबधान रहेको भन्दै लगानीका लागि आग्रह गरे ।

‘सरकारले जलविद्युतमा उदार नीति अवलम्बन गरेको छ, पहिलो १० वर्षमा ८० प्रतिशत आयकर छुट र दोस्रो वर्ष ५० प्रतिशत छुट दिने नीति हामीले लिएका छौँ, नेपालमा स्थायी सरकार भएकाले लगानीका लागि समेत उपयुक्त वातावरण छ ’, भेटमा मन्त्री पुनले भने ।

उनले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको भन्दै त्यस योजनालाई सफल पार्न कतारको समेत सहयोग आवश्यक रहेको धारणा राखे ।

हाल ८० प्रतिशत जनतामा विद्युतको पहुँच पुर्‍याइसकेको भन्दै उर्जामन्त्री पुनले सरकारले तीन वर्ष्भित्र देशभर विद्युतीकरण गर्ने योजना अघि सारेको भन्दै कतार सरकारसँग ग्रामीण विद्युतीकरणको क्षेत्रमा समेत सहकार्य गर्न सकिने प्रस्ताव राखे ।

नेपालमा उत्पादित बिजुली सरकारले खरिदको ग्यारेण्टी गर्ने व्यवस्था गरेको भन्दै मन्त्री पुनले देशबाहिर समेत भारत र बंगलादेश पनि क्षेत्रीय बजारका रुपमा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्