प्रधानमन्त्री ओली केहीदिन अस्पतालमै रहने, स्वास्थ्य अवस्था यस्तो छ

काठमाडौं, मंसिर १० । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएको छ ।

मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको शल्यक्रिया गरिएको हो ।

सोमबार राति पेट दुखेकाले उनलाई मंगलबार बिहान ९ बजे शिक्षण अस्पताल लगिएको थियो ।स्वास्थ्य परीक्षणपछि एपेन्डिसाइटिस भएको थाहा भएपछि शल्यक्रिया गरिएको हो ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह, डा. रमेशसिंह भण्डारीलगायतको टोलीले उनको शल्यक्रिया गरेको हो ।अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिससहित पेटको संक्रमण देखिएपछि शल्यक्रिया गरिएको जानकारी दिए ।

उनलाई केही दिन अस्पतालमै राखिने डा. श्रेष्ठले बताए ।‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । आजै डिस्चार्ज हुनुहुन्न । केही दिन यहाँ राखेर पूर्ण स्वास्थ्यलाभ गरेपछि घर पठाउँछौं’–उनले भने ।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको समस्याकै कारण पेटको संक्रमण देखिएको बताए ।

शल्यक्रियापछि प्रधानमन्त्रीलाई ‘आइसीयु’कक्षमा राखिएको र स्वास्थ्य अवस्था स्थीर रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।चिकित्सककाअनुसार एपेन्डिसाइटिस भएमा जतिसक्यो चाँडो शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

यसअघि, प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएका कारण गएको कात्तिक र यही मंसिर महिनामा गरी चारपटक डायलासिस गरिसकिएको छ । प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्