अब श्रम स्वीकृति लिन पालो कुर्न नपर्ने
काठमाण्डौ, मंसरि ८ । अब श्रम स्वीकृति लिन पालो कुर्न नपर्ने भएको छ । वैदेशिक रोजगार विभागले आउँदो १५ गतेदेखि ई–टोकन र म्यासेजिङ सेवा सुरु गर्ने भएको छ ।
ई–टोकनले श्रम स्वीकृतिका लागि अनलाइन आवेदन पेश गर्ने्बित्तिकै श्रम स्वीकृति कुन दिन पाउने भन्ने कुरा थाहा हुने भएकाले लाइन लाग्न नपर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुसालले बताए ।
आइनलाइनबाटै पुनः श्रम स्वीकृतिका लागि आफूलाई पायक पर्ने श्रम कार्यालय छान्न सकिने पनि उनले बताए । अनलाइनबाटै फारम भरेर तोकिएको समयमा कार्यालयमा पर्खिरहनुपर्ने पुरानो परम्पराको अन्त्य हुने विभागको विश्वास छ ।
यस्तै, यही सेवालाई थप प्रभावकारी बनाउन विभागले म्यासेजिङ प्रणालीलाई पनि सँगै जोडेको छ ।
आवेदन बुझाइसकेपछि कुनै कारणले श्रम स्वीकृति या अस्वीकृत भएमा वा थप कागजात पेश गर्नु परेमा यो प्रणालीबाट मोबाइलमा म्यासेज पठाएर जानकारी दिइनेछ ।
श्रम स्वीकृतिको जानकारी पनि मोबाइलमा मेसेजबाटै प्राप्त गर्न र सेवाग्राहीले फाराम भर्दा पेश गरेको इमेलमा श्रम स्टीकर पठाउने विभागले जनाएको छ । फारम भर्दा सहि नम्बर प्रयोग गर्न विभागले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्