डा. गोविन्द केसीले आज अनसन तोड्ने, सरकारसँग ५ बुँदे सहमति

काठमाडौं । पाँच दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीले आज अनसन तोड्ने भएका छन्। सरकार र अनशनरत डा. गोविन्द केसीबीच शुक्रबार मध्यराति पाँचबुँदे सहमति भएको छ । स्वास्थ्यमन्त्री दीपक बोहरा र केसीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै चौधौँपटक अनशन बसिरहेका केसी र स्वास्थ्यमन्त्री बोहराबीच चार घन्टा लामो छलफलपछि दुवै पक्ष सहमतिमा पुगेका हुन् । राति ११ बजे सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार शनिबार केसीले अनशन तोड्नेछन् ।

केसी चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिनमा डा. जगदीशप्रसाद अग्रवालको पुनर्वहाली र सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामालगायतका माग राखी विगत पाँच दिनदेखि अनशनमा थिए । सहमतिसँगै केसीले शनिबार १० बजे अनशन तोड्ने स्वास्थ्यमन्त्री बोहराले बताए ।

सहमतिअनुसार चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन सरकारले सात दिनभित्र सिफारिस समिति गठन गर्नेछ । त्यस्तै, त्रिवि शिक्षण अस्पतालको डिनमा प्रा.डा जगदीशप्रसाद अग्रवाललाई निरन्तरता दिइनेछ । त्यसका लागि त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिइने सहमतिपत्रमा उल्लेख छ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यस अघि सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीध्र कदम चाल्ने र आइओएमको अधिकार फिर्ता सम्बन्धी त्रिवि नियमावली संशोधन गर्नका लागि तत्काल सिनेटको बैठक बोलाउने सहमति दुई पक्षबीच भएको छ ।

शिक्षण अस्पतालको भौतिक पूवार्धार सुधार र अभिबृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिईने सेवा र सुविधामा बिस्तारका लागी आइओएम डिन कार्यालयले राख्ने बिस्तारित प्रस्तावमा स्वास्थ्य मन्त्रालयले आवश्यक आर्थिक व्यवस्था गर्ने सहमति पत्रमा उल्लेख छ ।

यस्तो छ पाँचबुँदे सहमति

– चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन सात दिनभित्र सिफारिस समिति गठन गर्ने

– डिन जगदीश अग्रवालको नियुक्ति निरन्तरताका लागि निर्देशन दिनुपर्ने

– आईओएमका अधिकार फिर्तासम्बन्धी सम्झौता कार्यान्वयन गर्न कदम चाल्नुपर्ने

– अधिकार फिर्ताका लागि त्रिवि सिनेट बैठक बोलाउने

– पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन र सेवा विस्तारमा बजेट व्यवस्था गर्नुपर्ने

 

प्रतिक्रिया दिनुहोस्