नेपाल-भारत समन्वय बैठकः सीमा व्यवस्थापनलाई मजवुद बनाउन संयुक्त अभ्यास गरिने

काठमाडौं, मंसिर ७ । नेपाल र भारतका अधिकारीहरु सम्मीलित समन्वय बैठकमा सीमा व्यवस्थापनलाई मजवुद बनाई राख्न आवश्यकता अनुरुप संयुक्त अभ्यास गर्ने सहमति भएको छ। बैठकले दुवै देशले आपसी समन्वयको लागि ‘नोडल अफिसर’ तोकिदै आएकोमा सो कार्यलाई पनि निरन्तरता दिने निर्णय गरेको छ।

शुक्रबार पोखरामा सम्पन्न बैठकले दुवै देशका सुरक्षाकर्मीबाट नियमित रुपमा ‘गुडविल भिजिट’को आदान प्रदान गर्ने निर्णय गरेको हो। बैठकमा अन्तर्दे्शिय व्यावसायिक तालिमहरुमा दुवै देशका सुरक्षाकर्मीहरुको सहभागिता गराउने सहमतिसमेत भएको छ।

तस्रो देशका नागरिकबाट नेपाल–भारत सीमा क्षेत्रमा हुनसक्ने अवैधानिक गतिविधि नियन्त्रणका लागि नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले निग्रानी बढाउने सहमति पनि भएको छ। पोखरामा भएको नियमित बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा सशस्त्र प्रहरी बलका बरीष्ठ अधिकृतहरु तथा गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ अधिकृतहरुको सहभागिता रहेको थियो।

तीन दिनसम्म संचालित बैठकमा भारतको तर्फबाट सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक कुमार राजेश चन्द्रको नेतृत्वमा ६ सदस्यीय टोलीको सहभागिता रहेको थियो। बैठकमा सीमावर्ती अपराध नियन्त्रणमा आपसी सहयोग अपरिहार्य रहेकोले आवश्यक सहयोग आदानप्रदान गर्ने निर्णय भएको छ। यसैगरी बैठकले पाँचौ नेपाल–भारत समन्वय बैठक आगामी वर्ष भारतमा गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्