बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक बढेसँगै राजश्वमा पनि वृद्धि
काठमाडौं, मंसिर ६ । बर्दिया राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेसँगै उनीहरुबाट प्राप्त हुने राजस्वमा पनि वृद्धि भएको छ ।
निकुञ्जको तथ्याङ्कअनुसार आव २०७०÷७१ मा १३ हजार २०७, आव २०७१÷७२ मा १३ हजार ५४८, आव २०७२÷७३ मा १० हजार ६४१, आव २०७३÷७४ मा १८ हजार नौ, आव २०७४÷७५ मा २० हजार ८४, आव २०७५÷७६ मा २४ हजार ५५८, २०७६÷७७ मा छ हजार ७३५ गरी एक लाख छ हजार ७३५ विदेशी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् ।
आव २०७५÷७६ मा रु तीन करोड ७६ लाख ६० हजार ३४५ राजश्व सङ्कलन भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । यस आवमा २०७६÷७७ मा रु ७६ लाख ९६ हजार ६८ राजश्व सङ्कलन भएको छ । चार वर्षको अवधिमा बर्दिया राष्ट्रिय निकुञ्जमा ४४ हजार १६६ विदेशी पर्यटक आएका छन् ।
निकुञ्जमा चार वर्षको अवधिमा ४४ हजार १६६ विदेशी पर्यटकले पाटेबाघ, एकसिङ्गे गैँडा एशियाका ठूलो राजागज हात्ती हेर्न पर्यटक आएको निकुञ्ज संरक्षण प्रमुख बरालले बताए । निकुञ्ज आउने आन्तरिक पर्यटकको सङ्ख्या धेरै रहेको बरालको बताए ।
करीब ९६८ वर्ग्िकलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा छ । सन् १९६८ मा शाही शिकार आरक्षका रूपमा स्थापित निकुञ्जलाई सन् १९८२ मा शाही बर्दिया वन्यजन्तु आरक्ष नामाङ्कन गरिएको थियो । सन् १९८४ मा बबई नदी आसपासको क्षेत्रलाई पनि यसमा समेटिएको थियो । सन् १९८८ मा बर्दिया राष्ट्रिय निकुञ्जका रूपमा यो क्षेत्र घोषणा भएको हो ।
पाटेबाघ, गैँडा, घडियाल गोही, डल्फिन, जरायो, कृष्णसारजस्ता लोपोन्मुख वन्यजन्तु पनि यस निकुञ्जमा संरक्षित छन् । विश्वको दुर्लभ वन्यजन्तु कृष्णसार हेर्न आउनेको लर्को लाग्ने गर्दछ । बर्दिया राष्ट्रिय निकुञ्जलाई लक्षित गरी होटल क्षेत्रमा लगानी गर्ने क्रम पनि दिनानुदिन बढिरहेको बर्दिया राष्ट्रिय निकुञ्जका रेञ्जर पुष्प श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्