आर्थिक विकासका लागि ऊर्जा विकास अपरिहार्य छ : मन्त्री पुन

काठमाडौं , मंसिर ५ । ऊर्जा मन्त्री वर्षमान पुनले क्षेत्रीय विकासका लागि ऊर्जा आवश्यक रहेको औंल्याएका छन् ।


बिहिबार काठमाडौमा भएको उर्जा सम्मेलनमा उनले क्षेत्रीय विकासका लागि ऊर्जा आवश्यक रहेको औंल्याएका हुन् । लगानीका लागि उपयुक्त र अनुकुल समय भएकाले लगानी गर्नको लागि पुनले आग्रह पनि गरे ।


आर्थिक विकासका लागि ऊर्जा विकासको अपरिहार्यता बढ्दै गएको बताउँदै उनले उत्पादित विद्युत नेपालमा मात्रै खपत नहुने भएकाले अन्य मुलुकमा बजार व्यवस्थापन गरिने समेत उल्लेख गरे ।

नेपालमा जलविद्युत्को अपार सम्भावना रहेको भन्दै उनले बिजुली भारत, बंगलादेश पठाउन सके दिगो आर्थिक विकासको लक्ष्य पूरा हुनेमा जोड दिए । इपानका उपाध्यक्ष कुमार पाण्डेले विद्युत् विकास तथा बजार विस्तार गर्न त्रिपक्षीय समझदारी आवश्यक रहेको बताए ।


नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले क्षेत्रीय विकासका लागि बिजुली आवश्यक रहेकोले यसका लागि नेपाल भारतको संयुक्त पहल आवश्यक रहेकोमा जोड दिए । सम्मेलनमा आयोजना निर्माण तथा ऊर्जा व्यापारका विषयमा १० सम्झौता भएका छन् ।

जलविद्युत् लगानी तथा विकास कम्पनी र एनएचपीसी इन्डिया तथा भारतीय इनर्जी एक्सचेन्ज र स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालका बीच सम्झौता भएको हो ।

बिहिबारबाट सुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा भारत, बंगलादेश, भुटान, चीन, नेदरल्यान्ड, नर्वे, दक्षिण कोरिया, क्यानडा, अमेरिका लगायत देशका लगानीकर्ता एवं प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्