बुद्ध एयरको आम्दानी हरेक वर्ष बढ्दो क्रममा
काठमाडौं, मंसिर ५ । नेपाली हवाइ सेवा कम्पनी बुद्ध एयरको आम्दानी हरेक वर्ष बढ्दो क्रममा रहेको छ। कम्पनीले गत वर्ष सञ्चालन आम्दानी मात्रै ६ अर्ब ७३ करोड रुपैयाँ आर्जन गरेको थियो।
वार्षिक ६ अर्बभन्दा धेरै सञ्चालन आम्दानी गर्ने कम्पनीको ऋण भने दुई अर्ब ५७ करोड रुपैयाँ भन्दा माथि छ। कम्पनीले नेपाली रुपैयाँमा ६२ करोड ९२ लाख र अमेरिकी डलरमा एक करोड ७१ लाख रुपैयाँ ऋण लिएको हो। इक्रा नेपालले गरेको रेटिङ प्रतिवेदनअनुसार कम्पनीले सबैभन्दा सुरक्षित संकेत प्रदान गर्ने ‘इक्रा एनपी ए टु प्लस’ प्राप्त गरेको छ।
कम्पनीले रेटिङ एजेन्सीलाई उपलब्ध गराएका तथ्याङ्कका आधारमा राम्रो रेटिङ प्राप्त गरेको हो। यस्तो रेटिङ आएका कम्पनीहरुले राम्रो बैंकमा सस्तो ब्याजदरमा कर्जा प्राप्त गर्न सक्छन्। राम्रो रेटिङ आएका कम्पनीहरुलाई राम्रा बैंकहरू आफैले कर्जा लागि अनुरोध गर्दै पुग्ने गरेका छन्।
नेपालमा २२ वर्षभन्दा लामो अनुभव भएको बुद्ध एयरको स्वदेशी बजारमा मात्रै ४८ प्रतिशत बजार हिस्सा छ। पछिल्ला वर्षमा कम्पनीको हिस्सा बिस्तारै घट्दै गइरहेको छ। तर कम्पनीको हरेक वर्ष आम्दानी भने बढिरहेको छ। कम्पनीको बजार विस्तार तथा आम्दानी स्वस्थ देखिएकाले पनि राम्रो रेटिङ प्राप्त गरेको हो।
कम्पनीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै नयाँ जहाज खरिद गरेको थियो। यसले कम्पनीको आम्दानी थप बढ्ने अनुमान गरिएको छ। कम्पनीको सञ्चालन क्षमता बलियो भएकाले आगामी दिनमा अझ राम्रो हुने एजेन्सीले जनाएको छ। कम्पनीले सन् २००८ देखि सञ्चालनमा ल्याएको ‘एटीआर टर्बोप्रोव सेरिज’ का जहाजले राम्रो मुनाफा प्रदान गरिरहेको छ।
केही वर्षदेखि बजारमा नयाँ हवाइ कम्पनी भित्रिएकाले कम्पनीको बजारलाई असर पुर्याउन सक्ने सम्भावना रहेको एजेन्सीले जनाएको छ। नयाँ कम्पनीहरू आउँदा तीन वर्षको अवधिमा कम्पनीको स्वदेशी बजार हिस्सा १० प्रतिशतले घटेको छ। नेपालको हवाइ क्षेत्रमा तीन वर्षको अवधिमा यात्रुको संख्या २७ प्रतिशतले बढ्दा कम्पनीको आम्दानी भने १७ प्रतिशतले बढेको हो।
विमान सेवा कम्पनीहरू थपिएसँगै यात्रु तान्न ‘प्राइस वार’ हुन थालेको छ। प्रत्यक्ष खर्च बढिरहेको भए पनि नयाँ कम्पनीहरुले सस्तोमै टिकट बिक्री गर्न थालेका छन्। त्यसको असर बुद्धलाई पनि परेको छ । बुद्धको आम्दानीमा काठमाडौं(पोखरा र काठमाडौं(विराटनगरको उडानबाट मात्रै ३९ प्रतिशत हिस्सा छ।
नेपाली आकाशमा १९९६ देखि उडान भर्दै आएको बुद्ध एयरले वाराणसी( कोलकातामा पनि आफ्नो सेवा प्रदान गर्दै आएको छ। निजी क्षेत्रबाट सञ्चालित बुद्ध एयरको अध्यक्षमा सुरेन्द्रबहादुर बस्नेत छन् भने प्रबन्ध निर्देशकमा वीरेन्द्रबहादुर बस्नेत रहेका छन्।
प्रतिक्रिया दिनुहोस्