धरहरा पुनर्निर्माणको ३ तलाको ढलान सम्पन्न, निमार्णले गति लिदै

काठमाडौं , मंसिर ३ । भूकम्पले भत्काएको ऐतिहासिक धरहराको पुनर्निर्माणको ३ तलाको ढलान कार्य सम्पन्न भएको छ । अहिले यस कार्यले तीव्रता लिदैं जना थालेको छ ।

विभिन्न व्यवधानका कारण निकै ढिला गरी सुरु भएको पुनर्निमाणको कामले भने अहिले निकै गति लिएको प्राधिकरणले जनाएको छ ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार हालसम्म ३० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ । जमीनमुनि (अण्डर ग्राउण्ड) का दुईतल्ला र जमीनभन्दा माथि एक तल्ला ढलान सकिएको प्राधिकरणका पुनर्निर्माण विज्ञ राजुमान मानन्धरले बताए ।


धरहरा पुननिर्माणको ठेक्का जिआइइटिसी–रमन जेभीले पाएको छ । केही समयअघि स्थानीय बासिन्दाले परम्परागत बाटो खुलाउनुपर्ने माग गरेपछि निर्माणको काम अबरुद्ध भएको थियो ।

पैदलमार्ग खुलाउनुपर्ने र सुन्धारा संरक्षण गर्नुपर्ने लगायतका माग राख्दै स्थानीयले धरहरा निर्माण क्षेत्रमा विरोध जनाएका थिए ।

धरहरा निर्माण आयोजनाले स्थानीयको अवरोधका कारण काम गर्ने वातावरण नभएको भन्दै केही दिन काम रोकेको थियो ।

प्राधिकरणका अनुसार अहिले त्यस्तो केही समस्या छैन । जमीनमुनि काम गर्न धेरै समय लाग्ने भएकाले पनि केही ढिला भएको भन्दै अब जमीनमाथिको काम तीव्र हुने प्राधिकरणको दावी छ ।

‘अब हरेक १५ दिनमा एक तल्ला ढलान हुन्छ, आगामी अक्टोवरसम्ममा धरहरा निर्माण सम्पन्न भइसक्छ,’ महर्जनले भने, ‘त्यसपछि पार्किङ भूभाग बनाउन केही समय लाग्ला ।’

धरहरा निर्माणबारे प्रत्यक्ष जानकारी लिन आफू अधिकांश समय फिल्डमै खटिएको जानकारी दिँदै उनले गुणस्तरमा ध्यान दिइएको बताए ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्किएको धरहरा सरकारले बाहिरबाट हेर्दा पुरानै डिजाइनमा तर भित्र सुविधासम्पन्न हुनेगरी बनाउन लागेको हो । २९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।

बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ भने धरहरामा र्भयाङ चढेर मात्र होइन, लिफ्टबाट उक्लिन सकिने छ ।

धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्