प्रधानमन्त्रीले गरे सिंहदरबारबाटै माथिल्लो त्रिशूली ’थ्री ए’को उद्घाटन

काठमाण्ड, मंसिर २ । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेगावाटको माथिल्लो त्रिशूली ’थ्री ए’ जलविद्युत आयोजनाको उद्घाटन गरेका छन् ।

सोमबार प्रधानमन्त्री कार्यालयको ’एक्सन रुम’बाट स्विच अन गरेर प्रधानमन्त्री ओलीले जलविद्युत् आयोजनाको उद्घाटन गरेका हुन्। उद्घाटन गर्दै उनले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि नागरिकले ठूलो आयोजनाको जग्गाको मुआब्जाको मूल्य महँगो बनाउन नहुने बताए ।

प्रधानमन्त्री ओलीले सरकारले अघि बढाएको आयोजना देश र नागरिकको हितका लागि भएकाले पनि यसमा धेरै महँगो हुनेगरी मुआब्जा लिने काम गर्न नहुने स्पष्ट पारे । उनले ठूला आयोजनालाई प्रतिकुल प्रभाव पार्ने गरी जग्गाको मुआब्जा लिने काम नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री ओलीले नागरिकले अनुचित ढंगले जग्गाको मुआब्जा लिने गरेकाले ठूला आयोजनाहरु विलम्ब हुने र महँगो हुने भएकाले त्यसलाई सहज ढंगले अघि बढाउन सहयोग गर्न सबैलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले जनताले अनुचित ढंगले जग्गा मुआब्जाको मूल्य तोकेकै कारण मुलुकको समृद्धिका लागि योगदान पुर्‍याउने ठूल्ठूला जलविद्युत आयोजनाहरुलाई अघि बढाउने काममा बिलम्व भैरहेको पनि बताए । उनले त्यस विद्युत आयोजनाले देशमा विद्युत आयात न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताए ।

प्रधानमन्त्री ओलीले सरकारले ऊर्जा, कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रको विकास गरेर देशलाई सामाजिक न्यायसहितको समृद्धिको दिशामा अघि बढाउन चाहेको पनि बताए ।

त्रिशूली ’थ्री ए’ जलविद्युत आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्नसक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । खासगरी काठमाण्डौ उपत्यकाको विद्युत् आपूर्तिमा सन्तुलन ल्याउन र हिउँद महिनामा भारतसँग आयात हुने विद्युत् न्यूनीकरण गर्न पनि आयोजनाले महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।

प्रतिक्रिया दिनुहोस्