तीन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणद्वारा छापा

काठमाडौं , मंसिर १ । तिन वटा मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारको छ ।
आइतबार नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारिएको स्रोतले बताएको छ ।


शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविन थालेको हो ।


‘सम्पत्ति शुद्धीकरणमा मेडिकल कलेजमाथि अनुसन्धान थालिएको हो’ मन्त्रालय स्रोतले भन्यो, ‘विभागलाई यस विषयमा कुनै पनि सम्झौता नगर्ने गरी काम गर्न भनिएको छ ।’

मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन् । सरकारले पनि अतिरिक्त शुल्क फिर्ता वा मिलान गर्न पटक पटक निर्देशन दिएको छ । तर मेडिकल कलेजहरुले उल्टै सरकारलाई तालाचाबी बुझाउने धम्की दिएपछि सरकारले ठगीमा मुद्दा चलाउने तयारीसमेत गरेको छ ।


यसैबीच आज मात्रै प्रधानमन्त्री ओलीले मेडिकल कलेजहरुले ठगेर लिएको रकम फिर्ता गराउने बताएका छन् । मेडिकल कलेजहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क ठगी नै भएको बताउँदै उनले ठगी गर्नेलाई कारवाही गरिने समेत बताए ।


प्रधानमन्त्री ओलीले नेकपा सरकार बन्नुअघि नै मेडिकल कलेजहरुले विद्यार्थीबाट करोडसम्म उठाएको उल्लेख गरे । यस्तालाई कारवाही गरेरै भएपनि फिर्ता गराउने उनको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्