कुवेतमा बन्धक बनाइएका २१ नेपालीलाई स्वदेश फर्काऊन संसदीय समितिको निर्देशन

काठमाडौं,मंसिर १ । संसदीय समितिले कुवेतमा बन्धक बनाइएका २१ जना नेपाली कामदारलाई तत्काल नेपाल फिर्ता गराउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्शेन दिएको हो ।


कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको संसदीय समितिले जनाएको छ ।


कामको खोजीमा कुवेतमा अवैधानिक ढंगले पुगेका २१ जना नेपाली कामदारलाई कुवेत सरकारले थुनामा राखेको छ । थुनामा राखेका उनीहरुको दण्ड जरीवाना तिरेर भएपनि तत्काल फिर्ता पठाउन समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बताए ।


थुनामा रहेका ती नागरिकहरुका लागि ५४ लाख रुपैयाँ जरीवाना तिरेर नेपाल फर्काउन सकिने कुवेतस्थित नेपाली दूतावासले प्रतिक्रीया दिएको छ । त्यसैगरी समितिले उनीहरुलाई अवैधानिक ढंगले कुवेत र्पुयाउने म्यान पावर कम्पनीमाथि पनि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।


यता, सरकारले भने कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई स्वदेश फिर्ता गराउन कुवेत सरकारसँग छलफल भइरहेको जनाएको छ । परराष्ट्र सचिव शंकरदास बैरागीले उनीहरुलाई स्वदेश फर्काउन त्यहाँस्थित नेपाली दूतावासमार्फत पहल भइरहेको बताए ।

उनले समितिको बैठकमा उनीहरुमाथि तोकिएको दण्ड जरीवाना मिनाहा गर्न पनि कुवेत सरकारसँग नेपाली दूतावासले कुरा गरिरहेको जानकारी दिएका छन् । कुवेतमा बन्धक बनाइएका नेपाली कामदारलाई तत्काल फिर्ता गराउन सरकारलाई सचेत गराएको छ ।


नेपाली कामदारहरुलाई अवैधानिक ढंगले वैदेशिक रोजगारमा पठाउने म्यान पावर कम्पनीको छानवीन गरी कडा कारबाही गर्न पनि सरकारसँग माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्