धेरै कर तिर्नेमा को को परे ?

काठमाडौँ, १ मंसिर । मंसिर १ लाई राष्ट्रिय कर दिवसको रुपमा मनाउँदै आएको यसपटक आठ वर्ष भएको छ । आन्तरिक राजस्व विभागले करलाई मर्यादित र सबैलाई समेट्न करको दायरा बढाउने उदेश्यसहित यो कर दिवस बनाउँदै आएको हो ।
यसै अवसरमा गत आर्थिक वर्ष ०७५÷०७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगीहरूलाई अर्थमन्त्री युवराज खतिवडाले सम्मान गरेका छन् । आठौं कर दिवसको अवसरमा आइतबार बिहान आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री खतिवडाले १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् ।

सिद्धार्थ शमशेर राणा चौथोपटक लगातार धेरै कर तिर्ने करदाता बनेका छन् । गत आर्थिक वर्षमा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि परेको छ । सूर्यले चुरोट उत्पादनलगायतका काम गर्दै आइरहेको छ ।

अर्थ मन्त्राललयका अनुसार, निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर डाबर नेपालले तिरेको छ । मदिरा र चुरोटबाहेक सबैभन्दा बढी आयकर तिर्नेमा भने जगदम्बा स्टिल अग्रपंक्तिमा छ ।

कृषितर्फ अन्नपूर्ण एग्रो, सहकारीतर्फ छिमेकी लघुवित्त र बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी आयकर तिर्नेमा परेका छन् । बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स, स्वास्थ्य तथा शिक्षामा मणिपाल मेडिकल कलेज, सूचना प्रविधिमा वल्र्ड लिंक र व्यापार व्यवसायमा अग्नि इन्कपोरिटेडले राज्यलाई बढी कर बुझाएका छन् ।

अर्थमन्त्रालयका अनुसार पर्यटनतर्फ तारागाउँ रिजेन्सी, हृयात र मध्यमस्तरीय करदाताबाट कामना सेवा विकास बैंक बढी कर तिर्नेमा परेका छन् । आन्तरिक राजस्वको कार्यक्षेत्रभित्र रही धेरै आयकर भियस मोरिससले तिरेको छ ।

प्रतिक्रिया दिनुहोस्