भारतद्वारा अतिक्रमित भूमिमा अनेरास्ववियुले फहरायो राष्ट्रिय झण्डा, विद्यार्थी र एसएसबीबीच सामान्य झडप

काठमाडौं, कात्तिक ३० । भारतद्वारा अतिक्रमित भूमिमा अनेरास्ववियु तथा इलामका नेता तथा कार्यकर्ताले नेपालको राष्ट्रिय झण्डा फहराएको छ।


करिब ४० जनाको संख्यामा इलाम सदरमुकामबाट गएको अखिलको टोलीले सन्दकपुरमा राष्ट्रिय झण्डा फहराएको हो। सन्दकपुर गाउँपालिका वडा नं ४ मा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीका नेता तथा कार्यकर्ताले भारतीय सीमा सुरक्षा बल एसएसबीसंग प्रतिकार गरि शनिवार नेपालको राष्ट्रिय झण्डा फहराएका छन्।


अखिलका केन्द्रीय सदस्य रविन्द्र सुवेदीको नेतृत्वमा भारतद्वारा अतिक्रमित भूमिमा नेपाली राष्ट्रिय झण्डा फहराउन शुक्रबार नै अखिलको टोली सन्दकपुर पुगेको सुवेदीले बताए ।
यसैबी सीमा रक्षाका लागि आन्दोलनरत विद्यार्थी र भारतीय सीमा सुरक्षा बल(एसएसबी) बीच सीमावर्ती क्षेत्र सन्दकपुरमा शनिबार ढुंगा हानाहान भएको छ।


भारतले दशगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्दै फिर्ताको दबाबका लागि आन्दोलनरत विद्यार्थीसँग झडप भएको हो। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अगुवाईमा भइरहेको जुलुसमा एसएसबीका जवानले नियन्त्रण गर्न खोजेपछि ढुंगा हानाहान भएको हो।

अनेरास्ववियु केन्द्रीय सदस्य रवीन्द्र सुवेदीले सन्दकपुरको दशगजामा एसएसबीले प्रवेश गर्नै रोक लगाएपछि तनाव सिर्जना भएको बताए।

‘विद्यार्थीको कार्यक्रम शान्तिपूर्ण थियो तर एसएसबीले सन्दकपुरको भ्यु–पोइन्ट प्रवेश गर्न नदिएपछि झडप भएको हो,’ उनले भने, ‘एसएसबीले भ्यु पोइन्ट प्रवेश नदिनेगरी निषेधित क्षेत्रका लागि राखेको बोर्डसमेत विद्यार्थीले भत्काएर फ्याँकिदिएका छन्।’
सदरमुकामबाट गएका ३० विद्यार्थीसहित स्थानीय गरी करिब ५० जनाले ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘सीमा मिच्न पाइँदैन’ जस्ता नारा लगाएका थिए।


नारा लगाउँदै सन्दकपुर भ्यु–पोइन्ट छेउ पुगेपछि एसएसबीले अवरोध गरेको तर विद्यार्थीले अवरोध हटाएर भ्यु–पोइन्टमा राष्ट्रिय झण्ड फहराएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष प्रवेश पराजुलीले बताए।

‘हामीले सीमा रक्षाका लागि नेपाल सरकार र सरोकारवालालाई ध्यानाकर्षण गराउन शान्तिपूर्ण आन्दोलन गरेका हौं,’ उनले भने, ‘तर, एसएसबीले नेपालतर्फको दशगजामा समेत प्रवेश गर्न नदिने प्रयास गर्यो। उनले एसएसबीले अवरोध गर्न गर्न खोजेको क्षेत्रमा नेपाली झन्डा फहराउन सफल भएको बताए।

भारतले हालै कालापानी, लिम्पियाधुरालगायत नेपाली भूमि आफ्नो पक्षमा रहेको नक्सा सार्वजनिक गरेपछि इलामका विद्यार्थी नेपाली भूमि फर्काउने दबाबस्वरूप आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले गत बिहीबार सीमावर्ती क्षेत्र पशुपतिनगरमा पनि सीमा रक्षाका लागि नारा–जुलुस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्