सुदूरपश्चिमका नयाँ पर्यटकीय गन्तव्यका लागि पाँच करोड बजेट विनियोजन, कुन क्षेत्रका लागि कति ?
काठमाडौं, कात्तिक २९ । सुदूरपश्चिमका नयाँ पर्यटकीय गन्तव्यका लागि पाँच करोड बजेट छुट्याएको छ । सरकारले घोषणा गरेको एक सय नयाँ पर्यटकीय गन्तव्य सूचीमा पर्न सफल सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रका लागि करिब ५ करोड बजेट विनियोजन भएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्तव्यको पूर्वाधार विकास तथा संरक्षणका लागि ४ करोड ८० लाख बजेट विनियोजन गरेको हो। उक्त बजेट पर्यकटीय गन्तव्यमा पर्यटन पूर्वाधार विकास र प्रवर्द्धनका लागि खर्च गरिने भएको छ।
सुदूरपश्चिममा १७ वटा स्थानीय तहमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको भौतिक विकासको शीर्षकमा बजेट विनियोजन भएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए।
मन्त्रालयले सार्वजनिक गरेको बजेटमा पर्यटन पूर्वाधार विकास कार्यक्रमतर्फ बजेट विनियोजन गरेको हो। १७ स्थानीय तहका लागि बजेट विनियोजन गरेर कार्यक्रम कार्यान्वयन गर्नका लागि सम्बन्धित स्थानीय तहलाई मार्ग निर्देशनको खाकासमेत पठाइसकेको मन्त्रालयले जनाएको छ।
गत आर्थिक वर्षमा नै सरकारले एक सयवटा नयाँ पर्यटकीय गन्तव्य र एक सयवटा स्थापित तर प्रवर्द्धन गर्नुपर्ने पर्यटकीय गन्तव्य छानेको थियो। ती छानिएका एक सय पर्यटकीय गन्तव्यको पूर्वाधार विकास तथा संरक्षण गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बजेटसमेत विनियोजन गरिसकेको छ।
गत वर्ष एक सय गन्तव्यमा सुदूरपश्चिमका १० वटा पर्यटकीय क्षेत्र परेकोमा प्रत्येकका लागि ५० लाखका दरले बजेट विनियोजन भएको थियो।
प्रतिक्रिया दिनुहोस्