यसरी भयो छायाँछवि काव्य श्रृंखलाको तेस्रो श्रृंखला सम्पन्न

काठमाडौं। छायाँछवि काव्य श्रृंखलाको तेस्रो श्रृंखला बिहीबार सम्पन्न भएको छ । छायाँछवि क्रियशनको आयोजनामा विहिबार बागबजारको सिटिम्याक्समा नेपाली फिल्म जगतमा हाँस्य साम्राज्ञीको उपमा पाएकी बसुन्धरा भुषाल एवं प्रसिद्ध गीतकार कृष्णहरी बरालको विशेष आतिथ्यतामा छायाँछविले तेस्रो काव्य श्रृंखला सम्पन्न गरेको हो । छायाँछवि काव्य श्रृंखलाकी संयोजक एवं मुक्तककार रश्मि रोदनको मुक्तक बाचनबाट कार्यक्रम शुरु भएको थियो ।

संयोजक रश्मि रोदनले कार्यक्रमबारे प्रकाश पार्दै उपस्थित साहित्यकार एवं चलचित्र तथा संगीतकर्मीलाई स्वागत गरेकी थिइन् । छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले कार्यक्रमबारे प्रकाश पारे । मन्तव्य राख्दै शान्तिप्रियले साहित्य, संगीत र चलचित्रको त्रीवेणीलाई एकीकृत गराउने प्रयास स्वरुप आयोजना गरिदै आएको बताए । कार्यक्रमको यस श्रृंखलामा अढाई दशकदेखि साहित्यमा क्रियाशिल रहदै आएका गोरखापत्र संस्थानका महाप्रवन्धक एवं कवि बसन्त प्रकाशले कविता बाचन गरेका थिए भने गजलकार शान्ति शर्माले गजलहरु सुनाएकी थिइन् । वाचन गरिएका श्रष्टाका श्रृजनामाथी विशेष अतिथी कृष्णहरि बरालले समिक्षा गरेका थिए ।

साथै कार्यक्रमको आयोजना आफूलाई निकै मन परेको एवं छायाँछविले उत्कृष्ट कार्य गरेको टिप्पणी गरेका थिए । त्यस्तै कार्यक्रमकी विशेष अतिथी चलचित्र अभिनेत्री बसुन्धरा भूषालले आफू यस्तोखाले लोकप्रिय साहित्यिक कार्यक्रममा आउन पाएकोमा खुशी व्यक्त गरेकी थिइन् । कार्यक्रमका श्रष्टाद्वय बसन्त प्रकाश उपाध्यय र शान्ति शर्माले आफूलाई तेस्रो सिलसिलामा चयन गरिएकोमा आभार व्यक्त गरेका थिए । कार्यक्रमकी संयोजक रश्मि रोदनले छायाँछवि काव्य श्रृंखलाको चौथो श्रृंखला आगामी माघ १६ मा गरिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्