प्रहरीको परिचय दिई हतकडी लगाएर १० लाखभन्दा बढी लुटपाट गरेको आरोपमा चार पक्राउ
काठमाडौं, १६ असार । काठमाडौंको वनस्थलीमा जग्गा खरिद गर्न आएका एक व्यक्तिलाई प्रहरी भएको भन्दै नियन्त्रणमा लिएर १० लाख ९५ हजार रुपैयाँ, मोबाइल फोन र बैंकका खाली चेक लुटेको आरोपमा चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–८ खतिवडा चोकका ४३ वर्षीय धनबहादुर मोक्तान जग्गा खरिदको सिलसिलामा काठमाडौं आएका थिए। उनी आफ्ना चिनजानका साथी शेरबहादुर मोक्तानको वनस्थलीस्थित डेरामा बसिरहेका बेला असार ९ गते साँझ करिब ७ बजे ५–६ जनाको समूह त्यहाँ पुगेको थियो।
प्रहरीका अनुसार उक्त समूहले आफूहरू प्रहरी भएको परिचय दिँदै धनबहादुरलाई हतकडी लगाएर नियन्त्रणमा लिएको थियो। त्यसपछि उनीसँग रहेको १० लाख ९५ हजार रुपैयाँ नगद, मोबाइल फोन तथा सिद्धार्थ बैंकका खाली चेकहरू लिएर फरार भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्नहरूको खोजीका क्रममा प्रहरीले असार १४ गते काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई हाल धापासी बस्ने ४३ वर्षीय रामशरण दमाई, काठमाडौं टोखा नगरपालिका–१ का ३८ वर्षीय सविन खवास, पर्साको ठोरी गाउँपालिका–४ घर भई हाल गौरीघाट बस्ने ४३ वर्षीया लक्ष्मी गोले तथा पीडितका चिनजानका साथी सिन्धुली घ्याङलेख गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१६ वनस्थलीमा बस्दै आएका ४६ वर्षीय शेरबहादुर मोक्तान रहेका छन्।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट लुटिएको रकममध्ये एक हजार दरका दुई लाख रुपैयाँ बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकामाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ।







प्रतिक्रिया दिनुहोस्