जनमत वाङ्मयद्वारा विशिष्ट १० साधक सम्मानित
काठमाडौं/ बनेपा, ४ बैशाख । जनमत वाङ्मयद्वारा विशिष्ट १० साधक सम्मानित। बनेपा । जनमत वाङ्मय प्रतिष्ठान नेपालले ४२ औँ वार्षिकोत्सवको दोस्रो चरणको सम्मान प्रमुख अतिथि संस्कृति शिरोमणि तथा वरिष्ठ लेखक हरिराम जोशीले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नुभयो। उहाँले स्वदेश तथा विदेश गरी दशजना विशिष्ट साधकहरूलाई जनमत पुरस्कार तथा सम्मान समर्पण गर्नुभयो।
प्रमुख अतिथि जोशीले प्रा.डा. चूडामणि बन्धु (पाल्पा)लाई हृदयचन्द्र जनमत वरिष्ठ साधक सम्मान,मोहन विक्रम सिंह (प्युठान) लाई कमलराज जनमत दर्शन साहित्य सम्मान,प्रा.डा. वीणा पौड्याल (ललितपुर)लाई जनमत-सिचि धर्म/संस्कृति सम्मान,प्रा.डा. कविता लामा (दार्जीलिङ)लाई विश्वशान्ति-जनमत प्रवासी लेखक सम्मान,नन्दकृष्ण जोशी (बझाङ)लाई जनमत-जनक प्रधान सेवा सम्मान ,प्रा.डा. सविना श्रेष्ठ (ललितपुर) लाई जनमत दीपक कायस्थ स्वास्थ्य सम्मान ,डा. बलराम अधिकारी (गोरखा) लाई जनमत-मित्र अनुवाद राष्ट्रिय सम्मान,जगदीश ओझा (बैतडी)लाई जनमत-ज्ञानरत्न/मङ्गलतारा राष्ट्रिय सम्मान,राजभाइ प्रधान (काभ्रे) लाई जनमत-पूर्णमाया/लुचि समाजसेवा सम्मान,डा.गोविन्दप्रसाद आचार्य (अर्घाखाँची)लाई शान्तिकिरण-जनमत फरक क्षमता सम्मानद्वारा सम्मानित गर्नुभयो। साथै,प्रमुख अतिथि जोशीले नेपाली भाषा साहित्यमा जनमतले पुर्याएको योगदान विशेष रहेको चर्चा गर्दै मोहन दुवाल भाषा साहित्यिक क्षेत्रका विशिष्ट साधक र सङ्गठक भएको बताउनुभयो ।
कार्यक्रमका सभाध्यक्ष जनमत वाड्मय प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ स्रष्टा मोहन दुवालले प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनो र पुस्तक उपहार प्रदान गर्दै जनमत पत्रिकालाई पञ्चायती शासकले दिएको दु:ख र पीडाका बारेमा बताउनु भयो ।उहाँले विचार प्रधानबाट साहित्यिक पत्रिकाका रूपमा जनमत प्रकाशन हुन थालेपछि देश विदेशमा रहेका नेपाली भाषाका स्रष्टाहरूका लागि साझा माध्यम बनिरहेको बताउँदै साहित्यिक कृति प्रकाशन,पुरस्कार र सम्मान प्रदान गर्दै भाषा साहित्यको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।यसैगरी सम्मानित प्रतिभा तथा अतिथिहरूलाई माला अर्पण जनमत मासिकका सम्पादक तथा प्रतिष्ठानका कोषाध्यक्ष भारती श्रेष्ठले गर्नुभयो ।
कार्यक्रममा प्रा.कपिल अज्ञातद्वारा रचित ‘मनका तराना’ गजलसङ्ग्रह विशिष्ट अतिथि मोहनविक्रम सिंह लगायतले सार्वजनिक गर्नुभयो।उक्त कृतिका बारेमा समालोचक डा. कृष्ण सुवेदीले धारणा प्रस्तुत गर्नुभयो । कार्यक्रममा सम्मानित प्रतिभाका तर्फबाट प्राडा चुडामणि बन्धु र प्राडा कविता लामाले मन्तव्य राख्नुभयो ।
यसैगरी जनमत बारे डा.छायादत्त न्यौपानेले शुभकामना मनतव्य राख्नुभयो । कार्यक्रममा नन्दकृष्ण जोशीले देउडा ,कवि लक्ष्मी माली ,प्रा.डा.सविना श्रेष्ठ र जगदीश ओझाले कविता वाचन गर्नुभयो । कार्यक्रममा उत्तर बंगबन्धु विश्वविद्यालय भारतका प्राध्यापक सञ्जय राई र सिक्किम विश्वविद्यालयका प्राध्यापक डा.अरूणा राई लगायतको उपस्थिति रह्यो । जनमत वाङ्मय प्रतिष्ठानका सचिव सिर्जना दुवालले धन्यवाद ज्ञापन गर्नुभयो ।प्रतिष्ठानका तर्फबाट राजु सरकारले कार्यक्रमको उद्घोषण गर्नुभयो।














प्रतिक्रिया दिनुहोस्