नेपालको समृद्धिमा सघाउन बंगलादेश तयार, राष्ट्रपति हमिद आज पोखरा जाने, स्वागतका लागि भब्य तयारी

काठमाडौं , कात्तिक २८ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले नेपाल र बंगलादेशले परस्पर सहयोग र समृद्धिको साझा रणनीति निर्धारण गर्न सक्ने बताएका छन् ।

राष्ट्रपति हमिदको सम्मानमा नेपाली समकक्षी विद्यादेवी भण्डारीले हिजो साँझ दिएको रात्रिभोजमा आतिथ्य मन्तव्य राख्दै हमिदले सडक सञ्जाल, हवाई सम्पर्क, जलविद्युत र पर्यटन प्रवद्र्धनका माध्यमबाट नेपाल र बंगलादेशले समृद्धिको साझा रणनीति निर्धारण गर्न सक्ने बताएका हुन् ।

व्यापार र लगानीका द्धिपक्षीय सम्भावनालाई अझ पहिल्याएर जान जरुरी रहेको उनको भनाइ थियो । नेपालको सामाजिक आर्थिक समृद्धिको प्रयासमा सघाउ पु¥याउन र आवश्यक सहयोग प्रदान गर्न बंगलादेश सदैब तयार रहेको राष्ट्रपति हमिदले उल्लेख गरे ।

बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा बङ्गलादेश र नेपालले साझा चासोका मामिलामा साझेदारी गर्दै आएको बताउँदै उनले आफ्नो देश र नेपालका शान्ति सैन्यले राष्ट्रसङ्घीय शान्ति स्थापनाका कार्यमा उल्लेखनीय योगदान गरिरहेको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत मन्तव्य राख्दै नेपालको जलस्रोत र बङ्गलादेशको प्राकृतिक ग्यास दुवै देशको आर्थिक समृद्धिको वाहक बन्न सक्ने सम्भावना रहेको बताईन् ।

बङ्गलादेशले हालै गरेको तीव्र विकासले आफूलाई खुशी लागेको बताउँदै राष्ट्रपति भण्डारीले दुवै देशबीच व्यापार, पर्यटन, शिक्षालगायत क्षेत्रमा सहयोग आदानप्रदान आवश्यक रहेकामा जोड दिइन् ।

उनले गरीबी, बेरोजगारी, महिला हिंसा र कुपोषणबाट उन्मुक्ति पाउन यस क्षेत्रका क्षेत्रीय संस्था सार्क र बिम्स्टेकलाई सक्रिय बनाउनुपर्ने धारणा व्यक्त गरिन् । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री, मन्त्री, सरकारका विशिष्ट श्रेणाीका कर्मचारीलगायत सहभागी थिए ।

यसअघि राष्ट्रपति हमिद हिजो दिनभर राजनीतिक भेटवार्तामा व्यस्त थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित, शीर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति हमिद आज पोखरा भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

पोखरामा उनले फेवातालमा डुंगा सयर गर्नुका साथै दृष्यावलोकन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति हमिदको स्वागतका लागि पोखरामा गण्डकी प्रदेशको सरकारले भब्य तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्