मन्त्रिपरिषद बैठक बस्दै, प्रदेश प्रमुखको टुंगो लाग्ला ?

काठमाडौं । आज मन्त्रीपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने बैठकले प्रदेश प्रमुखको सिफारिस र अस्थायी राजधानी तोक्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

दलहरूबीच यसअघि प्रदेश प्रमुख तोक्ने विषयमा मोटामोटी सहमति भएपनि अस्थायी राजधानी तोक्ने विषय भने अन्यौलमा परेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख तोक्ने संवैधानिक व्यवस्था छ । सरकारले प्रदेश प्रमुखमा सामाजिक क्षेत्रमा योगदान पु¥याएका तथा बौद्धिक छवि भएका व्यक्तिलाई मनोनयन गर्ने तयारी गरेको छ ।

उच्च स्रोतका अनुसार प्रदेश प्रमुखमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त, पूर्वप्रधानसेनापति, पूर्वमुख्य सचिव र सामाजिक अभियन्ताहरूमध्येबाट प्रमुखमा सिफारिस हुनेछन् । कानुनमन्त्री यज्ञबहादुर थापाका अनुसार प्रदेश प्रमुखका विषयमा आन्तरिक छलपल भएकाले आजको मन्त्रीपरिषद बैठकले त्यसलाई अनुमोदन गर्ने बताए ।

अहिले प्रदेशको राजधानीको माग गर्दै चर्को आन्दोलन भएकाले अस्थायी राजधानी उच्च अदालत रहेका सातै प्रदेशका स्थानलाई नै प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरिरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

यसैबीच, सरकारले प्रदेश प्रमुख नियुक्तिमा ढिलाइ गर्दा निर्वाचन आयोगले प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फको नतिजा सार्वजनिक गर्न सकेको छैन । कानुनी जटिलताका कारण आयोग तयार भइसकेको नतिजा ‘होल्ड’ गरेर बस्न बाध्य भएको जनाएको छ ।

सातै प्रदेशको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका ३ सय ३० निर्वाचन क्षेत्रको परिणाम आएको करिब एक महिना वितिसकेको छ ।
समानुपातिकतर्फका २ सय २० सिटको परिणाम दिन भने आयोग प्रदेश प्रमुख नियुक्तिको प्रतीक्षा गरेर बसेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्