पुस मसान्तभित्र सबै स्थानीय तहमा बैंक सेवा पुर्याउन अर्थमन्त्रीको निर्देशन, १९ वटामा पुग्न बाँकी
काठमाडौं , कात्तिक २७ । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा तत्काल सेवा र्पुयाउन राष्ट्र बैंकलाई निर्देशन दिएका छन् । हाल करिब १९ वटा स्थानीय तहमा मात्र बैंकिङ सेवा पुग्न बाँकी रहेको बताउँदै उनले आगामी पुस मसान्तभित्र सबै स्थानीय तहमा सेवा र्पुयाउन उनले निर्देशन दिएका हुन् ।
कामना सेवा विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा स्थापना गरेको केन्द्रीय कार्यालय बुधबार उदघाटन गर्दै मन्त्री खतिवडाले मुलुक संघीयतामा गएसँगै स्थानीय तहमा आर्थिक क्रियाकलाप बढेकाले सबै स्थानीय तहमा छिटो बैंकिङ सेवा स्थापना गर्नुपर्ने बताए ।
आफू अर्थमन्त्री हुँदा ७५३ स्थानीय तहमध्ये ३६५ स्थानीय तहमा मात्रै बैंकहरुको रहेको स्मरण गर्दै उनले भने, ‘डेढ वर्ष लगातार प्रयास गर्दागर्दा अहिले आएर करिब १९ वटामा मात्र बाँकी छ बैंकिङ सेवा पुग्नलाई । त्यो बाँकी क्षेत्रमा पनि बैंक सेवा पुगुन् ।’
‘फेरि त्यो सेवा एकदमै दुर्गम क्षेत्रमा मात्र होइन, कतिपय सुगम भनिएका प्रदेशहरुमा पनि बाँकी छ । त्यसकारण यो पुस मसान्तभित्रमा कुनै न कुनै रुपमा बैंकिङ सेवाको पुहँच बाँकी स्थानीय तहले पनि पाउन्,’ उनले भने ।
अर्थमन्त्री खतिवडाले नेपालमा व्यावसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनेको पनि दोर्होयाए । व्यावसायिक वातावरण नबनेको भए कसरी बैंकमा ऋण लिनेहरुको घुइँचो हुन्थ्यो ? भनि उनले प्रश्न गरे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकको निर्देशनहरुको पूर्ण पालना गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिए । इमान्दार ढंगले काम नगर्ने बैंक तथा वित्तीय संस्था र कर्मचारीहरु कारबाहीको भागीदार हुने उनले चेतावनी दिए ।
बैंक तथा वित्तीय संस्थाहरुमा अनियमितता गर्नेलाई बैकिङ कसुर ऐन अन्तरगत कार्वाही हुने डेपुटी गभर्नर शिवाकोटीको भनाइ थियो ।






















प्रतिक्रिया दिनुहोस्