बंगलादेशका राष्ट्रपति हमिद आज भेटवार्तामा व्यस्त हुने, भेटघाट तालीका यस्तो छ

काठमाडौं , कात्तिक २७ । नेपालको चार दिने औपचारिक भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बुधबार शिष्टाचार भेटमा व्यस्त हुँदैछन् ।

उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यस्तै उनले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

बंगलादेशका राष्ट्रपतिको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार बेलुका रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । उनले अरु नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

यसअघि मंगलबार नेपाल आइपुगेका बंगलादेशी राष्ट्रपतिले भक्तपुर क्षेत्रको भ्रमण गरेका थिए । उनी बिहीबार पोखराको भ्रमणका लागि जाने छन् । फेवातालसहितका क्षेत्र हेरेर उनी बिहीबार नै काठमाडौँ फर्किने छन् । उनी शुक्रबार अपरान्ह चार बजे स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्