बङ्गलादेशका राष्ट्रपति आज नेपाल आउँदै, सरकारद्वारा उच्चस्तरीय सुरक्षाको व्यवस्था
काठमाण्डौ , कात्तिक २६ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपाल आउँदै छन् । हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्न लाग्नुभएका बङ्गलादेशका राष्ट्रपति हमिदलाई अति विशिष्ट व्यक्तिहरूको सुरक्षा कार्य्विधि–२०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ ।
आवश्यक तयारीस्वरुप सुरक्षा समन्वयात्मक छलफल भइसकेको र सम्भावित चुनौतीलाई मध्यनगर गर्दै चौविसै घण्टा रहने गरी सुरक्षाकर्मीलाई विभिन्न स्थानमा खटाइएकोे सुरक्षा निकायले जनाएको छ । सैनिक मुख्यालयका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले उक्त कार्य्विधि अनुसार सुरक्षा समन्वयका लागि रथीको नेतृत्वमा चारवटै सुरक्षा निकायका अधिकारी सहभागी सुरक्षा समन्वय समितिले समन्वयात्मक रुपमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको बताए ।
मङ्गलबार अपराह्न काठमाण्डौ आइपुग्नु हुने राष्ट्रपति हमिदका लागि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलदेखि बस्ने होटल तथा भेटघाटस्थलमासमेत आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ । उहाँले उपत्यकाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक क्षेत्र र पोखराको समेत भ्रमण गर्नुहुने भएकाले ती क्षेत्रमा समेत आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले अन्य विशिष्ट व्यक्तिलाई दिइने सुरक्षा अनुसार नै अहिलेपनि सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिऐ । भ्रमणका क्रममा हमिदले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बङ्लादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।
उहाँसँग पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत शिष्टाचार भेट गर्नुहुने जनाइएको छ । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले पोखराका साथै काठमाडौँ उपत्यकाका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्नुहुने छ ।
काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजुले जिल्ला सुरक्षा समितिले आवश्यक सुरक्षा व्यवस्था मिलाइसकेको जानकारी दिए । उहाँको भ्रमणका लागि यसअघि चिनियाँ राष्ट्रपतिलाई दिइए झैँ विमानस्थलका साथै प्रयोग हुने सडक र निवासस्थलसम्म आवश्यक सुरक्षा व्यवस्था मिलाइएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता होविन्द्र बोगटीले बताए । भ्रमणको पूर्वसन्ध्यामा उपत्यकाका विभिन्न सडकका प्रत्येक खम्बामा नेपाल र बङ्गलादेशका राष्ट्रपतिको तस्विर राखिएको छ । भ्रमण सम्पन्न गरी उहाँ कात्तिक २९ गते अपराह्न स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
यसअघि गएको असोज २५ र २६ गते जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय भ्रमण गर्नुभएको थियो । यो समयमा विमानस्थलसँगै काठमाण्डौ उपत्यकाका विभिन्न क्षेत्रका सडक सजाइएको तथा कालोपत्र गरिएको थियो भने ठाउँठाउँमा नयाँ बगैँचासमेत निर्माण गरिएको थियो ।
वैकल्पिक सडकको प्रयोग गर्न आग्रह
बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको चार दिने औपचारिक नेपाल भ्रमणका अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले सोमबार एक विज्ञप्ति जारी गरी मङ्गलबारदेखि यही कात्तिक २९ गतेसम्म हुने नेपाल भ्रमणका समयमा ठूला मालबाहक सवारीसाधन चक्रपथभित्र प्रवेश नगरिदिनु हुन सबै नागरिकमा आग्रह गरेको हो । मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारीसाधन प्रयोग नगर्न महाशाखाले उपत्यकावासीसँग आग्रह गरेको छ ।
सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन तथा हर्नको प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले भनेको छ । यसैगरी यो समयमा ट्राफिक समस्या परेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा फोन गर्न चालकलाई आग्रहसमेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्