एनएमबि बैंकले दियो आकर्षक लाभांश

काठमाडौं, २५ कार्तिक । एनएमबि बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई आकर्षक लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको कार्तिक २४ गते सम्पन्न बैठकले शेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले बोनश पाउनेछन् । हालसम्म १८ वाणिज्य बैंकको लाभांश घोषणा भएकोमा बैंकको लाभांश सबैभन्दा धेरै हो । यसअघि नबिल बैंकले ३४ प्रतिशत लाभांश घोषणा गरेको थियो।

एकीकृत बैंकको चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ६०० रुपैयाँ रहेको छ । २१ प्रतिशत बोनस वितरण पश्चात बैंकको १३ अर्ब ९५ करोड ९ लाख ८७ हजार ३३६ चुक्ता पूँजी रुपैयाँ पुग्नेछ।

गत आर्थिक वर्षमा एनएमबि बैंकले दुई अर्ब ३१ करोड र ओम डेभलमेन्ट बैंकले ५९ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। यस अवधिमा एनएमबिको वितरणयोग्य मुनाफा एक अर्ब २७ करोड ४७ लाख ९३ हजार र ओमको ४५ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको थियो।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा एनएमबि बैंकले १० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद गरि कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्