परराष्ट्रमन्त्री ज्ञवालीले मुख खोले–कालापानीमा भारतले बलमिच्याइँ गर्यो

काठमाडौं , कात्तिक २४ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बलमिच्याइँ गरेर भारतले कालापानीलाई आफ्नो क्षेत्रमा राखेर एकपक्षीय नक्सा जारी गरेको बताएका छन् ।

उनले यसलाई सच्याउन सरकारले कूटनीतिक र राजनीतिक पहल गर्ने समेत बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्बद्ध अनेरास्ववियूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले कृतिम धारा बनाएर सीमा बनाउन खोजिएको उल्लेख गरे ।

उनले भने, ‘हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङ्दी नदी हो भन्ने प्रष्ट देखिन्छ । तर, अहिले एउटा सानो कृतिम तुरतुरे धारा बनाएर त्यसलाई सीमा भन्दै आएको छ, जसमा नेपालको विरोध रहँदै आएको छ ।’

अहिले भारतले एकपक्षीय रुपमा महाकालीको नयाँ नक्सा जारी गर्नु बल मिच्याइँ हो, भन्दै मन्त्री ज्ञवालीले, ‘त्यसलाई हामीले अस्वीकार्य भनेका छौं’ भने ।विगतमा राजाराणाहरुले छाडे भनेर सरकार चुप नबस्ने भन्दै उनले नेपाली भूमि फिर्ता ल्याउन सरकारले भारतसँग कूटनीतिक र राजनीतिक पहल गर्ने बताए ।

अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङले कालापानीमा तत्काल स्थलगत अनुगमन टोली पठाउने र नेपाली भूमि फिर्ता गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्