ग्लोबल आइएमई बैंकको नाफा २४.५० प्रतिशत वृद्धि, ३ महिनाको अवधिमा २ अर्ब ३१ करोड खुद नाफा

काठमाडौं, १५ कार्तिक। ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासमा नाफामा उल्लेख्य सुधार गरेको छ ।

बैंकले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २४.५० प्रतिशतले वृद्धि भई २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सम्भावित जोखिम बापत छुट्याइने कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा आएको कमी तथा खुद फि र कमिसन आम्दानीमा भएको वृद्धिले बैंकको नाफा सुधारमा भएको हो ।

बैंकको इम्पेयरमेन्ट चार्ज ५१.६९ प्रतिशतले घटेर ४८ करोड ८३ लाख ३ हजार रुपैयाँमा सीमित भएको छ । जुन गत आर्थिक वर्षको सोही पहिलो त्रैमासमा १ अर्ब १ करोड ९ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।

इम्पेयरमेन्ट चार्जमा आएको यही ५२ करोड २६ लाख रुपैयाँ कमीले खुद ब्याज आम्दानी सामान्य वृद्धि हुँदा पनि बैंकको सञ्चालन मुनाफा ३५.९० प्रतिशतले बढेर ३ अर्ब २२ करोड २५ लाख २९ हजार रुपैयाँ पुगेको हो ।

बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी १.४५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा ४ अर्ब १९ करोड ३२ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

गैर–ब्याज आम्दानीतर्फ बैंकको खुद फि तथा कमिसन आम्दानी ३४।५० प्रतिशतले बढेर १ अर्ब २२ करोड १२ लाख ९० हजार रुपैयाँ पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा बैंकको फि तथा कमिसन आम्दानी ९० करोड ७६ लाख ३४ हजार रुपैयाँ मात्र थियो । यसैगरी बैंकको खुद ट्रेडिङ आम्दानी ४४।७० प्रतिशतले बढेर ४१ करोड २१ लाख ६४ हजार रुपैयाँ र अन्य सञ्चालन आम्दानी १७ करोड ४१ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

व्यवसाय विस्तारतर्फ बैंकले देशकै ठूलो वासलात भएको बैंकका रूपमा आफ्नो निक्षेप र कर्जा परिचालन दुवैमा सुधार गरेको छ । गत असार मसान्तको तुलनामा चालु आवको पहिलो तीन महिनामा ग्राहक निक्षेप ३।११ प्रतिशतले बढेर ६ खर्ब ६९ अर्ब १७ करोड १४ लाख रुपैयाँबाट ६ खर्ब ९० अर्ब १८ लाख रुपैयाँ पुगेको छ ।

सोही अवधिमा ग्राहक कर्जा ७।४८ प्रतिशतले बढेको छ । कर्जा ४ खर्ब ३९ अर्ब ८ करोड ८५ लाख रुपैयाँबाट बढेर ४ खर्ब ७१ अर्ब ९६ करोड ४९ लाख रुपैयाँ कायम भएको छ ।

कर्जाको गुणस्तर अर्थात् सम्पत्तिको अवस्थामा पनि बैंकले सुधार ल्याएको छ । बैंकको कुल निष्कृय कर्जा गत आर्थिक वर्षको पहिलो त्रैमासको ४।९८ प्रतिशतबाट घटेर चालु आवको सोही अवधिमा ४।७९ प्रतिशतमा झरेको छ । त्यस्तै खुद निष्कृय कर्जा पनि ०।९५ प्रतिशतबाट घटेर ०।६० प्रतिशतमा झरेको छ । निष्कृय कर्जामा आएको सुधारसँगै बैंकको कर्जा नोक्सानी व्यवस्थापनको कभरेज गत वर्षको १०९।६३ प्रतिशतबाट बढेर १२०।१७ प्रतिशत पुगेको छ ।

नाफामा भएको वृद्धिसँगै बैंकको पुँजीमा प्रतिफल अर्थात् वार्षिकीकृत आरओई ११।०१ प्रतिशतबाट बढेर १३।२९ प्रतिशत र सम्पत्तिमा प्रतिफल अर्थात् आरओए १।०५ प्रतिशतबाट बढेर १।१२ प्रतिशत पुगेको छ । बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५१ पैसाबाट बढेर २३ रुपैयाँ ३५ पैसा कायम भएको छ । मूल्य आम्दानी अनुपात १०।०८ गुणा रहेको छ ।

३९ अर्ब ६४ करोड ४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैंकको जगेडा कोष २७ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७७ पैसा, पुँजी पर्याप्तता अनुपात ११।३२ प्रतिशत र चालु आवको पहिलो त्रैमाससम्मको वितरणयोग्य मुनाफा २ अर्ब ७ करोड २० लाख रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्