विश्व सम्पदामा सूचीकृत स्वयम्भूको संरक्षण तथा विकास गर्न पाँच करोड ४० लाखको बजेट स्वीकृत
काठमाडौँ, १५ कात्तिक। विश्व सम्पदामा सूचीकृत स्वयम्भूको संरक्षणका लागि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि पाँच करोड ४० लाखको बजेट हालै स्वीकृत गरेको छ।
विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू तथा त्यस आसपास क्षेत्रको पूर्वाधार विकास एवं संरक्षणका लागि ३९ प्रतिशत र प्रशासनिक खर्चका लागि ६१ प्रतिशत रकम अनुमोदन गरिएको हो।
महासमितिले पारित गरेको सो रकम गत आर्थिक वर्षको तुलनामा करिब २५ लाखले बढि हो ।
ऐतिहासिक एवं धार्मिक स्थल स्वयम्भू महाचैत्यको संरक्षण एवं व्यवस्थापन गर्ने जिम्मेवारी वहन गरेको महासमितिले स्वयम्भू महाचैत्य र यससँग सम्बन्धित संरचनाहरूको जीर्णोद्धार र मौलिक स्वरूप जोगाउने कार्य गरेको महासमिति अध्यक्ष भिक्षु धर्ममूर्तिले जानकारी दिनुभयो।
विश्वसम्पदा सूचीमा रहेको स्वयम्भूलाई पवित्र तीर्थस्थलका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले महासमितिले सम्पदा क्षेत्रको संरक्षण तथा मूर्त तथा अमूर्त सम्पदा संरक्षण गर्ने बताउनुभयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट स्वयम्भूमा आउने पर्यटक तथा धर्मावलम्बीलाई ऐतिहासिक पक्षका बारेमा जानकारी दिने, नियमित पूजाआजा सञ्चालन गर्ने, सम्पदाको संरक्षण साथै प्रचारप्रसार गर्दै आएको महासमितिले त्यस क्षेत्रको धार्मिक जङ्गलको संरक्षण, वृक्षरोपण गर्ने गरेको छ ।

महासमितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत संस्थासँग समन्वय र सहकार्यमा मर्मत सम्भार तथा संरक्षण साथै जात्रा पर्व, धार्मिक महोत्सव, मेला सञ्चालन, व्यवस्थापन गरेको जनाइएको छ ।
महासमिति सदस्य राजु लामाका अनुसार यस क्षेत्रमा आउने स्वदेशी तथा विदेशी पर्यटक र धर्मावलम्बीको सुविधा, व्यवस्थापन, विभिन्न जात्रा पर्व, धार्मिक गतिविधिलाई निरन्तरता दिँदै आएको छ।






















प्रतिक्रिया दिनुहोस्