सरकारले हालै जारी गरेको राष्ट्रिय शिक्षा नीति मौलिकतारहित भएको आरोप
काठमाडौं, कात्तिक २४ । सरकारले हालै जारी गरेको राष्ट्रिय शिक्षा नीति २०७६ मौलिकतारहित रहेको मौलिक जरोकिलो पार्टीले जनाएको छ।
उक्त नीति मन्त्रिपरिषद्ले यहीँ कात्तिक १८ गते स्वीकृत गरेको थियो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कात्तिक २१ गते सार्वजनिक गरेको उक्त नीतिको मूल स्वरुपमा मौलिकता नदेखिएको पार्टीका प्रवक्ता लीलाबहादुर बानियाँले जारी विज्ञप्तिमा उल्लेख छ।
’सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाउने जुन लक्ष्य तोकिएको थियो, त्यो पूरा गर्ने कुनै ठोस योजना यस नीतिमा छैन,’ उनले भने।
नीतिमा देशका मौलिक रैथाने धर्म, संस्कार, संस्कृति, सभ्यतासम्बन्धी मूल्य तथा मान्यता, प्रविधि एवम् सीपलाई प्राथमिकता नदिइएको पार्टीका केन्द्रीय संयोजक सुशील गौतमले जानकारि दिए।
’नेपालका संस्कृत, नेपाली भाष एवं मातृ भाषाका पक्षमा कुनै योजना नहुनु, गुरुकुल एवम् गुम्बालगायत शिक्षाको विकासमा सरकारको दृष्टि नपुग्नु र शिक्षण संस्थामा समुदायको स्वामित्व एवम् व्यवस्थापन सुनिश्चित गर्ने सोच नदेखिनु आपत्तिका कुरा हुन्,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्