आफ्नै सचिवालयका सबै सदस्यलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन, दिने भए राजीनामा

काठमाडौं, कात्तिक २३ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिने भएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज बनाउन भन्दै सचिवालयका सबै सदस्यले राजीनामा दिन लागेका हुन् ।


सचिवालयका एक सदस्यले भने, ‘मंसिरबाट लागू हुने गरी स्वच्छिक रुपमा राजीनामा दिन लागिएको हो ।’

मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैले राजीनामा दिने छन् ।


‘भोलि आवश्यक परेकालाई प्रधानमन्त्रीले फेरि बोलाउन पनि सक्नुहुन्छ’ एक सदस्यले भने, ‘तर अहिले सबैले राजीनामा दिन्छौं ।’

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयसँग जोडिएका सल्लाहकार र सहयोगीहरुलाई राजीनामा दिन निर्देशन दिएका थिए ।

सरकारको काम कारवाहीमाथि चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले हिजो सचिवालयमा कार्यरत सबैलाई डाकेर राजीनामा दिन भनेका थिए ।


प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार राजेश बज्राचार्य सचिवालयमा अवैतनिक भएकाले राजीनामा दिनु नपर्ने र बाँकी सबैलाई राजीनामा दिन प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन्।

पछिल्लो समय किड्नी डायलसिस गरेर आएपछि प्रधानमन्त्री ओली सक्रिय देखिएका छन्। उनले सचिवालयमा कार्यरतलाई राजीनामा दिनु भन्नुको राजनीतिक अर्थ मन्त्रिपरिषदमा हेलफेर हुँदैछ भन्ने पनि हो।

प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीको काममाथि नेपाल कम्युनिस्ट पार्टी (ने क पा)कै नेता तथा कार्यकर्ताहरुले चर्को आलोचना गर्दै आएका छन्।


यसैकारण पनि सचिवालयका सबै सदस्यले राजीनामा दिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्