प्रकोप बढेपछि जुम्लामा उच्च सतर्कता ! प्रकोप क्षेत्रमा चिकित्सक टोली पुग्यो
काठमाडौं । जाजरकोटमा भाइरलको प्रकोप बढेपछि छिमेकी जिल्ला जुम्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जाजरकोटसँग जोडिएको साविकको ताम्ति गाविसमा उच्च सतर्कता अपनाइएको बताएको छ ।
कार्यालय प्रमुख अंगदबहादुर शाहीका अनुसार ताम्तीलगायत जिल्ला भरीकै स्वास्थ्य संस्थाहरुमा औषधि, स्वास्थ्यकर्मी तयारी अवस्थामा आवश्यकता अनुसार व्यवस्था गरिएको बताए ।
यता प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला दैविक उद्धार समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समेत बैठक बसेर आवश्यक पूर्वतयारी थालिएको उनले बताए ।
प्रकोप क्षेत्रमा कर्णाली प्रतिष्ठानको चिकित्सक टोली पुग्यो
जाजरकोटको जुनीचाँदे गाउँपालिकाका विभिन्न क्षेत्रमा भाइरल ज्वरो र रुघाखोकीका कारण धमाधम नागरिकको ज्यान जान थालेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको विशेषज्ञ टिम त्यस गाउँपालिकामा खटाइएको प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाइले जानकारी दिए ।
प्रभावित क्षेत्रमा बालबालिकाको मृत्यु बढी भएपछि प्रतिष्ठानका बालरोग विशेषज्ञ डाक्टर नम्रता सिन्दान र मेडिकल अफिसर डाक्टर सूर्य चौधरीसहितको टिम जाजरकोट सदरमुकाम पुगेर प्रभावित क्षेत्रतिर लागेको छ ।
बालरोग विशेषज्ञ डाक्टर नम्रता सिन्दानले टेलिफोनमा भन्नुभयो, ‘प्रकोप क्षेत्रमा हामीहरु पुगेका छौं, अब उपचार थाल्नेछौं । आशा गरौ, उपचारपछि महामारी कम हुनेछ ।’
जाजरकोटमा प्रकोपबाट ज्यान गुमाउनेको संख्या १३
जाजरकोटमा तीन सातादेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले जानकारी दिए ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म मृत्यु हुनेमा पाँच वर्षभन्दा कम उमेरका सात बालबालिका र ७ जना ५० वर्ष माथिका रहेका छन् ।
उहाँका अनुसार प्रकोप क्षेत्रको मस्कोट स्वास्थ्य चौकीले उपचारको समन्वय स्थलको काम गरिरहेको छ । उहाँले थप्नुभयो, सबैभन्दा बढी प्रभावित वडा नम्बरहरु १, २, ३ र ५ नम्बरमा रहेको छ ।
अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले आवश्यकता भएको ठाउँमा पुगेर उपचार सुरु गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्