नेपालको दाबीलाई भारतद्वारा अस्वीकार, भन्यो नेपाली भूभाग मिचेका छैनौं

काठमाडौं , कात्तिक २१ । नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको भारतले दाबी गरको छ ।


भारतको हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग परेको नेपालको दाबीलाई उसले अस्वीकार गरेको छ ।


भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतको नयाँ नक्सालाई लिएर नेपालमा व्यापक विरोध भएको र नेपालले पनि एकपक्षीय निर्णय अस्वीकार्य हुने बताएको भन्दै भारतको आधिकारिक धारणा मागिएको थियो।

‘हाम्रो नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको छ । र, नक्सामा सीमा हेरफेर गरिएको छैन ।’ जवाफमा प्रवक्ता रविशकुमारले भने ।


तर नेपालसँगको सीमा विवादबारे दुई देशको संयन्त्रमार्फत समाधान गर्न सकिने उनले बताए । उनले सीमा विवादको विषय दुई देशबीचको सम्वन्ध विगार्ने ‘भेस्टेड इन्ट्रेस्ट’ हुन सक्नेतर्फ सचेत गराए ।


भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूभागका रुपमा देखाइएको छ । यसलाई लिएर चर्को विरोध भएपछि सरकारले विज्ञप्ति जारी गर्दै भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा स्वीकार्य नभएको बताएको थियो ।

यता दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने भन्दै सरकारले एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई अमान्य हुने सरकारको भनाइ छ ।


यसैको विरोधमा नेपालमा कडा विरोध पनि भइरहेको छ । विभिन्न विद्यार्थी संगठनहरुले प्रदर्शन गरिरहेका छन् । आज मात्रै भारतीय दुतावासमा ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्