अघि बढ्यो मेलम्ची, कामले गति लिदै
काठमाडौं, कात्तिक २१ । पटक पटक रोकिदै आएको मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको कामले गति लिन थालेको छ । बाँकी रहेको कामले अहिले भने धमाधम अघि बढिरहेको आयोजनाले जनाएको छ ।
इटालियाली निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको मेलम्ची खानेपानीको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको हो ।
अहिले आयोजना स्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँ गरी झण्डै १०० कामदार यसमा कार्यरत छन् । अरु १०० कामदार आगामी सातासम्ममा थप गरी पूर्णरुपमा काम अघि बढाउने कम्पनीको योजना रहेको छ । सिएमसीले निर्माण गरिसकेका संरचनाहरुको अन्तिम काम (फिनिसिङ) गर्न शुरु गरिएको हो ।
अहिले सुरुङको सबलीकरण र बाँकी सुरुङभित्रै ८०० मिटर क्षेत्रमा कङ्क्रिट ढलानको काम भइरहेको छ ।
राष्ट्रिय गौरवको योजनामा पर्ने सो आयोजनाको बाँकी भनिएको पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने एक सम्झौतामा सरकारले दुई महिना अघि चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो ।
खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनामा अहिले नयाँ ठेकेदार कम्पनीले नयाँ उत्साहका साथ काम थालेकाले ती काम छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्दै आएकी छिन् ।
कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन शून्य दशमलव १५ प्रतिशतले लाभांश दिने गरी सम्झौता भएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । योजना मुताबिक काम अघि बढे वर्षा अघि नै नदीमा बाँध बाँध्ने काम सम्पन्न हुनेछ ।
आयोजनाका जम्माजम्मी कामलाई तीन भागमा विभाजन गरिएको छ । आयोजना निर्माणका क्रममा पहिले धेरै अवरोध भए पनि अहिले अवरोध कम भएकाले तोकिएको अवधिभित्रै काम सकिने वरिष्ठ डिभिजनल इञ्जिनीयर पन्तले बताए ।
आयोजनाको मुख्य सुरुङ खन्ने काम सकिएको छ । आयोजनाका लागि आवश्यक भौतिक पूर्वाधारका लागि झण्डै ७० किलोमिटर सडक मर्मत सम्भार र स्तरोन्नतिको काम सकिएको छ ।
सुरुङ माथिबाट ढुङ्गा माटो खसेर यहाँका संरचनालाई क्षति नपुगोस् भनी बनाइएको २७ दशमलव ५ किलोमिटर प्रारम्भिक ‘सपोर्ट’ को काम सकिएको छ । झण्डै एक लाख घनमिटर कमजोर चट्टान झिकेर त्यस ठाउँमा कङ्क्रिट राख्ने काम पनि सकिएको छ । सुरुङदेखि प्रशोधन केन्द्रसम्म आपूर्ति पाइप जडान भइसकेको छ । भुईँमा अन्तिम ढलानको काम झण्डै २५ दशमलव तीन प्रतिशत मात्रै बाँकी छ ।
लामो समयसम्म पनि सम्पन्न नभएको राष्ट्रिय गौरवका आधा योजनामध्ये यो एक हो । काठमाडौँ उपत्यकामा रहेको खानेपानीको समस्या हल गर्न मेलम्चीको पानी काठमाडौँ ल्याउन संस्थागत पहल शुरु भएको दुई दशक भयो ।
आयोजना निर्माणका लागि एडिबीले सन् २००१ मा सम्झौता गरेको थियो । पछिल्लो पटक काम गरेको इटालियाली कम्पनी सिएमसी फिर्ता भएको झण्डै पाँच महीनापछि अहिले नयाँ कम्पनीले बाँकी निर्माणका काम शुरु गरेको छ ।
विना अवरोध योजना मुताबिक निर्माण कार्य अघि बढे अबको १४ महीनामा आयोजना सम्पन्न हुने अपेक्षा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्