भारतीय हस्तक्षेपविरुद्ध विराटनगरको सीमावर्ती क्षेत्रमा प्रदर्शन, जताततै तीब्र बिरोध

काठमाडौं, कात्तिक २१ । नेपालका भूभागलाई आफ्नो नक्साभित्र समावेश गर्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि विराटनगरको सिमावर्ती क्षेत्रमा प्रदर्शन भएको छ । विराटनगरका युवाहरुले स्वतन्त्र युवा समुहको नाममा भारतीय हस्तक्षेपकोविरुद्धमा सीमावर्ती क्षेत्र रानीमा प्रदर्शन गरेका हुन् ।भन्सार गेट अगाडि प्रदर्शन गरेका युवाहरुले भारतीय हस्तक्षेप बन्द गर्न माग गरे ।


बिहीबार सीमानाका पुगेका युवाहरुले भारतको थिचोमिचो सहेर नबस्ने बताए । पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरे ।भारतले नेपालको भूभाग आफ्नो भएको दाबीसहित नयाँ नक्सा निकालेपछि सरकारले भारतको नयाँ नक्सालाई स्वीकार नगर्ने जनाएको छ । भारतीय नयाँ नक्साप्रति सामाजिक सञ्जालमा पनि तीब्र बिरोध भइरहेको छ ।


भारतले नयाँ नक्सामार्फत नेपाली भूभाग अतिक्रमण गरेको विरोधमा नेपालका विभिन्न भागमा प्रदर्शन भइरहेको छ । खासगरी विद्यार्थी संगठनहरु भारतीय कदमको विरोधमा उत्रिएका हुन् । विद्यार्थी संगठनहरुले बिहीबार विभिन्न जिल्लामा विरोध प्रदर्शनको कार्यक्रम राखेका छन् ।
यता पाकिस्तानले पनि भारतको नयाँ नक्साप्रति कडा आपत्ति जनाएको छ ।

भारतको विवादित नक्साका बारेमा जताततै विरोध भइरहेको छ । नेपाल, पाकिस्तान र स्वयं भारतमै पनि भारतको नयाँ नक्साको विरोध भइरहेको छ । नेपालमा विभिन्न विद्यार्थी संगठनले भारतीय नक्साको विरोधमा प्रदर्शन गरिरहेको समयमा सरकारले कालापानी नेपाली भूभागमा पर्ने दावी गर्दै विज्ञप्ति जारी गरेको छ ।


परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिप्रति पनि धेरैले प्रश्न उठाइरहेका छन् । मन्त्रालयको ‘लेटर हेड’मा जारी विज्ञप्तिमा संक्षिप्त हस्ताक्षर भएको, हस्ताक्षरकर्ताको नाम र ओहोदा उल्लेख नगरिएको भन्दै सामाजिक सञ्जालमा धेरैले टिप्पणी गरेका छन् ।

नेपाल सरकारले जारी गरेको विज्ञप्ति अपुरो रहेको भन्दै नेपालभित्रै टिप्पणी भइरहेको समयमा यही विषयमा पाकिस्तानले भने भारतको कदमको कडा विरोध गरेको थियो । भारतले नक्सा जारी गर्दैमा स्थिति परिवर्तन नहुने पाकिस्तानले प्रष्ट पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्