निर्वाचन आयोगले भन्यो -प्रदेश प्रमुखहरुको हेरफेर निर्वाचन आचारसंहिता विपरीत छैन

काठमाडौं , कात्तिक २० । प्रदेश प्रमुखहरुको हेरफेर निर्वाचन आचारसंहिता विपरीत नभएको निर्वाचान आयोगले जनाएको छ ।

प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने र नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय निर्वाचन आचार संहितको विपरीत नरहेको आयोगले जनाएको हो । यद्यपि आयोगले यसलाई गम्भिर रुपमा लिएको समेत प्रष्ट पारेको छ ।


निर्वाचन आयोगमा बुधवार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त ईश्वरी पौडेलले प्रदेश प्रमुखहरुको बर्खास्ती र नियुक्ति गर्न नहुने भनेर निर्वाचन आचारसंहिताको बुँदामा उल्लेख नभएकाले यसले आचारसंहिता उल्लंघन भयो भन्न नसकिने बताए ।

आचारसंहितको कुनै पनि बुँदामा मन्त्रिपरिषद पुनर्गठन र प्रदेश प्रमुखहरुको नियुक्ति गर्न नहुने भनिएको छैन पौडेलले भने । त्यसैले यसलाई हामीले सरकारमाथि नैतिक प्रश्नको रुपमा लिन सकिन्छ । आयोगले यसलाई गम्भिरतापूर्वक लिएको छ, तर कुनै बुँदामा यसो गर्न नहुने नभनिएकाले अरु निर्देशन दिनु परेन ।

सरकारले हालै प्रदेश प्रमुखहरुको पदमुक्ति र नियुक्ति निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको थियो ।

प्रदेश प्रमुखद्वारा पदभार ग्रहण

प्रदेश २ का नवनियुक्त प्रमुख तिलक परियारले बुधबार आफ्नो पदभार ग्रहण गरेका छन् । बिहान १० बजेतिर जनकपुरधाम आएका परियार मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा पुगी पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै प्रमुख परियारले यहाँको सरकारसँग मिलेर अघि बढ्ने बताए । उनले अब शान्ति र अमनचयनका लागि काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउँदै सरकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताए ।

आफू एउटा पार्टीबाट नियुक्त भएपनि अब कुनै पार्टीको व्यक्ति नभएको उनले बताए । ‘अब समग्र देशको मान्छे हुँ, कुनै पार्टीको मान्छे होइन’ उनले भने, “अब समग्र देशका लागि काम गर्छु ।”
१८ कात्तिकमा प्रदेश २ प्रमुखमा नियुक्त भएका परियारले प्रदेशमा पारित हुने विधेयकको अध्ययन गरी प्रमाणित गरिने उल्लेख समेत गरे ।

प्रतिक्रिया दिनुहोस्