रुपन्देहीमा ४० करोडको दुग्ध प्रशोधन केन्द्र स्थापना हुँदै

काठमाडौं, कात्तिक २० । रुपन्देहीमा ४० करोडको दुग्ध प्रशोधन केन्द्र स्थापना हुने भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आधुनिक दुग्ध प्रशोधन केन्द्र स्थापना हुन लागेको हो ।

असोज ९ गते सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा नगरपालिकाले दुग्ध प्रशोधन केन्द्र परियोजनालाई ‘सोकेश’मा राखेको थियो ।

करीब ४० करोड रुपैयाँको लागतमा दुग्ध प्रशोधन परियोजना निर्माण गर्न लुम्बिनी विशिष्टीकृत सहकारी संघले काम अघि बढाएको हो । तिलोत्तमा नगरपालिकाले परियोजनका लागि ४ बिघा जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।


संघले प्रदेश ५ का झण्डै ४०० सहकारीकर्मीबीच अन्तक्र्रिया गरेर दुग्ध प्रशोधन परियोजनाको बारेमा अवधारणा सार्वजनिक गरेको छ । रुपन्देहीसहित प्रदेश ५ का सबै जिल्लामा उत्पादित दूधको बजारीकरणमा टेवा र्पुयाउने उद्देश्यले दुग्ध प्रशोधन केन्द्रको अवधारणा अघि सारिएको हो । उचित बजारीकरण नहुँदा दूध उत्पादन हुने मुख्य सिजनमा यहाँका किसानले मिल्क होलिडेको समस्या भोग्न बाध्य छन् ।


लागतअनुसारको मूल्य पनि पाउन सकेका छैनन् । किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्दै दूधको बजार सुनिश्चित गराउन परियोजनाको अवधारणा अघि सारिएको तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले बताए ।

तिलोत्तमाले आफ्ना दूध उत्पादक किसानलाई प्रतिलिटर दूधमा १ रुपैयाँ अनुदान र पशु बीमा रकममा ५० प्रतिशत अनुदान दिँदै आएको छ । पशुको पञ्जिका राख्ने तथा पशुपालन राहत कोष र समूहमा पशुपालन गर्ने महिलालाई बैंक ब्याजमा अनुदान दिने व्यवस्था पनि मिलाएको छ ।

यूएचटी दुग्ध प्रशोधन परियोजना निर्माणमा प्रदेश सरकारले समेत सघाउने जनाएको छ । प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले दुग्ध प्रशोधन परियोजनाको स्थापनाले दूध उत्पादन, प्रशोधन र बिक्री वितरण सहज हुने भएकाले यसमा प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने बताए ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ रुपन्देही जिल्ला दुग्ध उत्पादनमा विशिष्ट स्थान हासिल गरेको भन्दै दुग्ध प्रशोधन परियोजना स्थापना भएपछि त्यसको फाइदा किसानले लिन सक्ने बताउँछन् । दुग्ध प्रशोधन परियोजनासम्बन्धी अवधारणा तयार पारेका प्रदेश ५ का पशुपक्षी तथा मत्स्य निर्देशनालयका प्रमुख तुलसीराम भण्डारीले सहकारीले नै प्रवद्र्धन गर्ने परियोजना आफैंमा सबैका लागि प्रेरणादायी बन्ने बताए ।

लुम्बिनी विशिष्टीकृत सहकारी संघका अध्यक्ष खगराज शर्माले प्रदेश ५ का सहकारीकर्मीको उत्साहले परियोजनालाई गन्तव्यमै र्पुयाउने बताए ।

प्रतिक्रिया दिनुहोस्