नाकाबन्दीको पीडा नसकिँदै फेरि यसरी झस्काउँदै छ भारतले नेपाललाई, चर्कियो सीमा विवाद !

काठमाडौं , कात्तिक २० । लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित विशाल नेपाली भूमिलाई समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेको छ।

कालापानी र सुस्ताको सीमा विवाद मिलाउन गठन भएको परराष्ट्रसचिव स्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतले एकतर्फी रुपमा नक्सा सार्वजनिक गरेको छ।

नाकाबन्दीले बिग्रिएको सम्बन्ध पछिल्लो समय सुधारिँदै गएको बेला भारतले नेपाललाई फेरि झस्काएको छ।

सन १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालापानीको मुहान हो।

र, कालापानी नै नेपाल भारत सीमाना हो। त्यसयता ४४ वर्षसम्म लिम्पियाधुरा नै कालीको मुहानको रुपमा निर्विवाद थियो।

सन् १९६२ मा चीनसँगको लढाइँपछि काली नदी तरेर पूर्वतर्फ लागेको भारतले नेपाली भूमि कालापानीमा फौज राखेको छ।

सीमाविवाद समाधान गर्न गठन भएको परराष्ट्रसचिवस्तरीय संयन्त्रको निष्कर्षसमेत नपर्खी भारतले अतिक्रमित भूमिलाई आफ्नो नक्सामा समेटेको हो।

नापी विभागका महानिर्देशक कमल घिमिरेले भने भारतले सार्वजनिक गरेको नक्सा सीमा नक्सा नभएर आन्तरिक प्रयोजका लागि भारतले तयार गरेको सानो स्केलको नक्सा भएको दावी गरेका छन्।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले भने भारतले प्रकाशित गरेको नक्साको यकिन तथ्य बुझ्न नेपाल सरकारका सम्बद्ध निकाय सक्रिय सइसकेका बताएका छन्।

भारतले सार्वजनिक गरेको नक्सामा नेपालको भूभागसमेत हालेपछि फेरि नेपाल भारत सीमा विवाद फेरि एक पटक सतहमा आएको छ ।

अहिले भारतले आफ्नो नक्सामा राखेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई नेपालले गएको फागुनमा सार्वजनिक गरेको नक्सामा पनि राखेको छ । नापी विभागले तयार पारेको नक्सामा अहिले भारतले राखेको क्षेत्रलाई पनि समेटेको थियो ।

नेपालको नापी विभागले तयार पारेको नक्साअनुसार अहिले आएर भारतले ती क्षेत्र अतिक्रमण गर्दै आफ्नो नक्सामा राखेको हो । यसअघि पनि यो क्षेत्र भारतले अतिक्रमण गरेको भन्दै पटक–पटक नेपाली पक्षले विरोध जनाउँदै आएका थिए । ‘लिपुलेक हाम्रै हो’ भन्दै तत्कालीन एमाले सम्बद्ध विद्यार्थी संगठनले लिपुलेक पुगेर झण्डा नै फहराएका थिए ।

दार्चुला जिल्लामा पर्ने लिपुलेकको पहिलो पटक सरकारले वि.सं. २०१८ सालमा जनगणना नै गरेको तथ्यांक छ । त्यो बेला पत्रकार भैरव रिसाल तथ्याङ्क विभागको अधिकृतका रुपमा लिपुलेक पुगेर त्यहाँको जनगणना गर्नुभएको थियो । तर अहिले त्यो क्षेत्रलाई नै भारतले आफ्नो भन्दै राजनीतिक नक्सा सार्वजनिक गरेको हो ।

नेपालको भूभाग आफ्नो भन्दै भारतले नयाँ नक्सामा समेटेपछि भने नेपाली पक्षले विरोध जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेको प्रति विरोध जनाएका छन् । नेपाली भूभाग भारतीय नक्सामा समेटिएकोमा आपत्ति जनाउँदै राप्रपाले प्रधानमन्त्रीसँग तत्काल कुटनीतिक रुपमा समस्याको सम्बोधन गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्