विश्व बैंकसँग सहकार्य गर्न नेपाल तत्पर छ: मन्त्री ढकाल

काठमाडौ, कात्तिक १९ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विश्व बैंकसँग सहकार्य गर्न नेपाल तत्पर रहेको बताएका छन् ।

विश्व बैंक समूहले अमेरिकाको राजधानी वासिङ्टनडिसीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री ढकालले न्यायपालिकामा सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग, त्यससम्बन्धी पूर्वाधार तथा जनशक्ति विकासका निम्ति विश्व बैंकसँग सहकार्य गर्न नेपाल तत्पर रहेको बताए ।

साथै उनले आर्थिकरुपले विपन्न नागरिक, सीमान्तकृत वर्ग र पिछडिएका समुदायको न्यायमा पहुँच वृद्धि गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।

‘न्याय क्षेत्र सुधार तथा प्रविधि’ विषयको उच्चस्तरीय सत्रलाई आज सम्बोधन गर्दै उनले न्याय सम्पादनमा सूचना प्रविधिको प्रयोग, त्यसमा नेपालको अवस्था र चुनौतीबारे जानकारी दिनुभएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।

कात्तिक २१ गतेसम्म सञ्चालन हुने उच्चस्तरीय बैठकमा २५ देशका कानूनमन्त्री, सर्वोच्च अदालतका प्रधानन्यायाधीशरन्यायाधीश, महान्यायाधिवक्ता तथा न्याय क्षेत्रका उच्च अधिकारी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्