बझाङमा सुरुङभित्र फसेका चारैजना मृत भेटिए, अक्सीजनको अभावका कारण ज्यान गएको अनुमान

काठमाडौं, कात्तिक १९ । बझाङको बुंगलमा निर्माणाधीन कालंगा हाईड्रोपावरको सुरूङभित्र फसेका चारैजना मजदुर मृत अवस्थामा भेटिएका छन् ।

आइतबार सुरुङभित्र गएका ६ जनामध्ये चारजना सुरुङभित्रै फसेका थिए भने दुईजना बाहिर निस्कन सफल भएका थिए ।

फसेकामध्ये सुरुङमा फसेका दैलेख गुराँस नगरपालिका–३ का ३० वर्षीय महेन्द्र शाही, ३२ वर्षीय करन शाही र अछाम तुर्माखाँद गाउँपालिका–६ का २४ वर्षीय महेन्द्र साउँदको शव सोमबार निकालिएको थियो भने बझाङको बुंगल नगरपालिका–१ का ३५ वर्षीय शेरसिंह धामीको शव मंगलबार (आज) निकालिएको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरज श्रेष्ठका अनुसार सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको टोलीले सुरुङभित्रै पसेर शव निकालेको हो ।

सोमबार सुरुङबाट बोलेरो जीप सहित तीनजनाको शव बाहिर निकालिएको भए पनि धामीको अवस्था अज्ञात थियो ।

१५ सय मिटर लामो सुरुङभित्र पसेका मजदुरको मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने सुदूरपश्चिम प्रदेशका डीआइजी तारणी लम्सालले बताए । सुरुङभित्र अक्सीजनको अभावका कारण उनीहरुको ज्यान गएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

यस अधि अक्सिजनको अभावले गर्दा सुरूङभित्र फसेका मजदुरको उद्धारमा कठिनाइ भएको थियो ।। बुंगल नगरपालिकामा निर्माण भइरहेको कालंगा हाइड्रो प्रालिको सुरूङभित्र फसेका चार जनामध्ये एक जना मजदुरको उद्धारमा कठिनाइ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्