देशमा शान्ति सुरक्षा सुदृढ बन्दै गइरहेको छ, अब छिट्टै प्रदेश प्रहरी गठन पनि हुन्छ : गृहमन्त्री थापा
काठमाडौं, कात्तिक १९ । गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति सुरक्षा सुदृढ बन्दै गएको बताएका छन्।
सोमबारदेखि बुटवलमा चलेको प्रदेशस्तरीय शान्ति सुरक्षा बैठकमा बोल्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । कार्यकममा उनले संघीयताको कार्यान्वयनसँगै शान्ति सुरक्षा पनि मजबुत बन्दै गएको दाबी गरे।
प्रतिबन्धित नेकपा विप्लवमाथि इंगित गर्दै उनले देशमा तर्साउने र भट्टाउने जस्ता गतिविधिहरू समेत निष्तेज पारिएको उल्लेख गरे ।
प्रविधिको विकाससँगै हुन सक्ने अपराधका गतिविधिलाई निरुत्साहित गर्न सुरक्षाका सबै निकायलाई अहिलेको प्रविधि अनुसार तालिम, प्रशिक्षण प्रदान गरिने उनले बताए।
पछिल्लो समय अन्तर्रा्ष्ट्रिय सम्बन्ध समेत बलियो हुँदै गएको बताउँदै गृहमन्त्री थापाले चिनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपालको अन्तर्रा्ष्ट्रिय सम्बन्धको छविलाई माथि उठाएको बताए।
दुई दिनसम्म चलेको गोष्ठीमा आसन्न उपनिर्वाचनको तयारी, शान्ति सुरक्षाको व्यवस्थापन र विप्लव नेकपामाथि निगरानी जस्ता विषयमा छलफल भएको बताइएको छ।
कानुन कार्यान्वयन सरकारको प्रमुख दायित्व रहेको बताउँदै गृहमन्त्री थापाले अब छिट्टै प्रदेश प्रहरी गठन हुने बताए।
सुरक्षा गोष्ठीमा मंगलबार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका विषयमा विभागका निर्देशक चोमेन्द्र न्यौपाने, प्रशासन तथा व्यवस्थापनका विषयमा महाशाखा प्रमुख राम प्रसाद आचार्य, द्वन्द्व व्यवस्थापनका विषयमा महाशाखा प्रमुख इन्दु घिमिरेले सहजीकरण गरेका थिए।
बुधबार प्रदेश अन्तर्गत १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लाको सुरक्षा अवस्थाका विषयमा प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा गृह सचिव प्रेम कुमार राई, प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका अन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत सुरक्षा अंगका प्रमुखहरूको सहभागिता रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्