अक्सिजनको अभावः सुरूङभित्र फसेका मजदुरको उद्धारमा कठिनाइ

काठमाडौं, कात्तिक १९ । अक्सिजनको अभावले गर्दा सुरूङभित्र फसेका मजदुरको उद्धारमा कठिनाइ भएको छ ।


बुंगल नगरपालिकामा निर्माण भइरहेको कालंगा हाइड्रो प्रालिको सुरूङभित्र फसेका चार जनामध्ये एक जना मजदुरको उद्धारमा कठिनाइ भएको हो ।

आइतबार दिउँसो सुरुङभित्र काम गर्न पसेका चार जना मजदुर नफर्किएपछि उनीहरुको खोजी सुरु गरिएको थियो ।

सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको नेतृत्वको चार जनाको टोलीले सुरुङभित्र फसेका तीन जना मजदुरको शव सोमबार बेलुका ७ बजे निकालेको थियो ।

सुरुङभित्र फसेका चार जनामध्ये दैलेखको गुराँस गाउँपालिका ३ का ३२ वर्षीय महेन्द्र शाही, त्यही ठाउँका कर्ण शाही र अछामको तुर्माखाँद गाउँपालिका ६ का २८ वर्षीय महेन्द्र साउदको शव फेला परेको उद्धारमा खटिएका शशत्र प्रहरी बलका प्रहरी निरीक्षक भवराज कटुवालले बताए ।

उनीहरुको शव सोमबार बेलुका नै सुरुङ बाहिर निकालिएको र बझाङको बुंगल नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय शेरसिंह धामी भने अझै बेपत्ता रहेकोले उद्धारको प्रयास भइरहेको छ ।

सुरुङभित्र अक्सिजन नभएका कारण उनीहरुको निसास्सिएर ज्यान गएको प्रहरीलेकोे भनाइ छ । अक्सिजन नभएका कारण उद्धारमा पनि निकै समस्या भइहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्