अभियुक्त आलमसहित १० जनाविरूद्ध अभियोग पत्र दर्ता

काठमाडौं, १८ कार्तिक । जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले रौतहट बम काण्डका मुख्य अभियुक्त मोहम्मद अफताब आलमसहित १० जनाविरूद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ ।

आलमसहित दस जनालाई विभिन्न तीन वटा कसूरमा अलग(अलग सजाय र एक जनालाई मतियार कायम गरी सोमबार अदालतमा अभियोग पत्र दर्ता गरेको हो ।

स्रेस्तेदार गुणराज पराजुलीका अनुसार आलमसहित १० जनालाई विस्फोटक पदार्थ ऐन २०१८, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानमुद्दामा सजाय माग गरिएको छ ।

उनीहरूलाई विभिन्न तीन कसूरमा ३२ वर्ष सजाय माग गर्दै अभियोग पत्र दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । पराजुलीका अनुसार विस्फोटक पदार्थमा २ वर्षसम्म कैद र २० हजार जरिवाना, ज्यान मार्ने कसूरमा जन्मकैद (बीस वर्ष) र ज्यान मार्ने उद्योगमा दस वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना माग गरी अभियोग पत्र दायर गरिएको छ ।

अभियुक्तमध्ये मुक्ति साहलाई देखीदेखी, जानीजानी पनि घटना ढाकछोप गरेकोमा मतियार बनाइ अभियोग पत्र दर्ता गरिएको छ ।

अभियोग पत्रमा दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टामा लगेर जिउँदै जलाई हत्यागरेको उल्लेख छ ।

यो कसूरमा पीडितलाई न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग दाबी पनि गरिएको छ । रौतहट बमकाण्डको कसूरमा आलमसहित शेख भदई, मोबिन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन् भन्ने शेख मलकार, गौरीशंकर साह र मुक्ति साहलाई प्रतिवादी बनाइएको छ ।

पीडक प्रतिवादीमध्ये कांग्रेस सांसद अफताब पक्राउ छन् । अन्य फरार प्रतिवादीलाई पक्राउ पूर्जी जारी गर्न माग गरिएको पराजुलीले बताए ।

समय अभावका कारण सोमबार थुनछेक बहस सुरू हुन सकेन । मंगलबार अदालत खुलेलगत्तै बहस सुरू छ ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साबिक राजपुर गाविस(४ फरहदवामा बम बिस्फोट गराएको र त्यसक्रममा केहीलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको आरोप कांग्रेस सांसद आलमसहितका व्यक्तिमाथि छ।

आलमका काका शेख इद्रिसको गोठमा चैत २७ गते साँझ साढे ६ बजे बम विस्फोट भएको थियो। विस्फोटमा परी गोठमा भएका केही व्यक्तिको मृत्यु र झन्डै दुई दर्जन घाइते भएको आशंका थियो। मृतक र घाइतेलाई नजिकैको इँटाभट्टाको भुंग्रोमा हालेर जलाइएको आरोप आलममाथि लागेको थियो।

त्यहाँ भएका कति मान्छेलाई जलाइयो र कति गायब पारिए, यकिन नभएकाले अभियोग पत्रमा दर्जन बढी उल्लेख गरिएको छ।

रौतहट बम काण्डमा रुक्सना खातुन र श्रीनारायणसिंह राजपुतले आलमसहितका व्यक्तिमाथि किटानी जाहेरी दिएका थिए। तिनै जाहेरी अस्तित्वमा रहेकाले रौतहट क्षेत्र नम्बर(२ बाट निर्वा्चित सांसद आलम घटना भएको १२ वर्षपछि गत असोजमा पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्