सुनकोशी नदीमा बस दुर्घटना (अपडेट): मृत्यु हुनेको संख्या १४ पुग्यो , ४७ जना घाइतेको धुलिखेल अस्पतालमा उपचार चल्दै

काठमाडौं, कात्तिक १७ । सुनकोशी नदीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । सिन्धुपाल्चोकको सुकुटेमा आज दिउँसो बस दुर्घटना भएको हो ।


दुर्घटनास्थलमा रहेका डीएसपी माधवप्रसाद काफ्लेले ‘नौजनाको मृत्यु भएको पुष्टि भैसकेको र अरु दुईजनाको पनि मृत्यु भएको खबर आएको’ बताएका छन् ।

घाइते ४७ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको पनि उनले जानकारी दिए । मृतकको सनाखत हुनसकेको छैन ।

आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको शैलुङश्वरी यातायातको बस दुर्घटना भएको हो ।

बस सडकबाट सुनकोसी नदीको बीचमा खसेकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।नदीले केही यात्रु बगाएकोसमेत प्रत्यक्षदर्शीले बताएका छन् ।

बस नदीबाट किनारमा निकालिएको छ । उद्धारको काम भइरहेको छ ।बसमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्